रोल्पाको जलजला पर्यटन मार्ग अलपत्र

३ बर्ष अगाडि

निर्माण व्यवसायीको लापरवाहीका कारण रोल्पाको एउटा सडक अलपत्र  परेको छ । 

जिल्ला सदरमुकामदेखि पर्यटकीय क्षेत्र जलजला जोड्नका लागि निर्माण आरम्भ गरिएको उक्त सडक निर्माणको काम वर्षौैँ बित्दा पनि सकिएको छैन । 

 जलजला पर्यटन मार्ग  निर्माण गर्ने  जिम्मा रौताह हरिहर निर्माण सेवाले लिएको थियो ।

रोल्पा नगरपालिका वडा नं ४ का केही भाग र वडा नं १० का अधिकांश भाग छोएर जाने उक्त सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको रोल्पा– १० का वडाध्यक्ष मानबहादुर  खत्रीले जानकारी दिए  । 

पच्चीस किलोमिटर लामो उक्त  सडकको हालसम्म पैँतालीस प्रतिशत काम मात्र भएको बताइएको छ ।

उक्त सडक योजना रौताहा हरिहर निर्माण  सेवाले करीब रु २१ करोडमा सम्पन्न  गर्ने  गरी बोलकबोल गरेको थियो । 

सो निर्माण कम्पनीले दोस्रो निर्माण कम्पनीलाई  हस्तान्तरण गरेको  थियो । दोस्रो निर्माण कम्पनीले समेत तेस्रो निर्माण कम्पनीलाई उक्त सडक निर्माणको जिम्मा दिएको थियो । 

मूल निर्माण सेवासँग पेटीमा काम गर्ने गरी जिम्मा लिएका खटकबहादुर खत्रीले आफूहरुले काम गरेको रकम भुक्तानी नपाउँदा यस्तो समस्या सिर्जना भएको बताए ।

समस्या  समाधानका लागि स्थानीय प्रशासनलगायत  विभिन्न निकायमा हारगुहार माग्दासमेत न्याय नपाएपछि निर्माणले गति लिन नसकेको खत्रीले स्वीकारे।   ‘निर्माण गरिएका संरचना पनि गुणस्तरीय छैनन्’, रोल्पा  –१० का मोतीलाल  डाँगीले  भने । मेसिनरी वालको जग  कमसल हुनाका साथै मापदण्ड विपरीत प्रयोग गरिएका निर्माण सामग्रीले ठाउँठाउँमा पहिरो गएको डाँगीको भनाइ छ । निर्माण कम्पनीको लापरवाही र सरकारी निकायको फितलो अनुगमनले यस्तो समस्या आएको डाँगीको आरोप छ । 

आर्थिक वर्ष २०७७÷०७८  असोजमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड –१९ का कारण भएको बन्दाबन्दीले चालु आवमा काम हुन नसकेको बताइएको छ । 

चालु आवका लागि प्रस्तावित  करीब रु चार करोड  रकम फ्रीज हुने देखिएको स्थानीयवासीको भनाइ छ । 

कोभिड –१९ को विश्वव्यापी महामारीले निर्माणमा समेत प्रभाव पारेको हुँदा केही समय आयोजनाको म्याद  थप गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको  रोल्पा–१० का वडाध्यक्ष खत्रीले भने ।

 
पर्यटकीय दृष्टिकोणले अब्बा  मानिएको उक्त सडक दाङ, धौलावाङ, लिवाङ हुँदै थवाङ जोड्ने जिल्लाको मध्यभागको सडकका रुपमा समेत विकास गर्न सकिने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया