‘सूर्यवंशी’ र ‘८३’ ले तोक्यो रिलिज डेट

३ बर्ष अगाडि

अक्षय कुमार र कटरीना कैफ स्टारर फिल्म ‘सूर्यवंशी’ कोरोना भाइरसका कारण सिनेमा हलमा नभइ ओटीटी प्लेटफर्ममा रिलिज हुने हल्ला थियो । तर, निर्देशक रोहित शेट्टीले आउँदो दिपावलीमा फिल्म रिलिज गर्ने घोषणा गरेका छन् । त्यस्तै, रणवीर सिंह स्टारर फिल्म ‘८३’ को प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो फिल्म यस वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । 
 
यी दुई फिल्म यस वर्षको मार्च र अप्रिलमा रिलिज हुँदै थिए । तर, कोरोनाका कारण लकडाउन भएपछि फिल्मको रिलिज अनिश्चितकालका लागि स्थगन भयो । ‘सूर्यवंशी’ र ‘८३’ बलिउडको पहिलो फिल्म हो, जसले आधिकारिक घोषणा गरेको छ कि फिल्म लकडाउन खुलेपछि प्रदर्शनमा आउनेछ । रोहित शेट्टीको ‘सूर्यवंशी’ मा अक्षय कुमार पुलिस अफिसरको भूमिकामा छन् ।
 
यो फिल्ममा अजय देवगन र रणवीर सिंहको अतिथी भूमिका छ । उनीहरु पनि रोहित शेट्टीको कप्स फिल्मको हिस्सा बनिसकेका छन् । त्यस्तै, फिल्म ‘८३’ मा रणवीर सिंह भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको भूमिकामा छन् । यसमा दीपिका पादुकोणले कपिल देवकी श्रीमती रोमी देवको भूमिका निभाएकी छन् । फिल्मलाई कविर खानले निर्देशन गरेका हुन् ।
 
कोरोना भाइरसको महामारीका कारण बलिउडका कयौं ठूला स्टारका फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने तयारीमा छन् । अक्षय कुमारको ‘लक्ष्मी बम’, सुशान्त सिंह राजपूतको ‘दिल बेचारा’, अजय देवगनको ‘भुज’, आलिया भट्टको ‘सडक २’, अभिषेक बच्चनको ‘द बिग बुल’, विद्युत जामवालको ‘खुदा हाफिज’ र कुणाल खेमूको ‘लूटके’ चाँडै डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया