पर्याप्त आम्दानी हुन थालेपछि किसान किबी खेतीमा आकर्षित

५ बर्ष अगाडि


थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । 

नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान थालिएको छ । एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । कुश्मा नगरपालिका–३ दुर्लुङका खेम गुरुङ विगत चार वर्षदेखि एक रोपनी क्षेत्रफलमा किबी खेती गर्दै आउनुभएको छ । पर्याप्त फल दिन थालेपछि नगरपालिकाका सवै वडामा किबी खेतीको विस्तार गर्न थालिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । 

कुश्मा नगरपालिका–३ दुर्लुङ, वडा नं १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ आर्थर डाँडाखर्कमा किबी खेती विस्तार गर्न लागिएको हो । यसका लागि कृषकलाई तालीम प्रदान गरिनुका साथै खेती गर्न सहयोग गरिनेछ । “चालू आवमा एक हजारभन्दा बढी किबीका बिरुवा रोपिनेछ,” जोशीले भन्नुभयो । लमजुङ र सिन्धुलीबाट बिरुवा खरीद गर्ने तयारीमा नगरपालिका छ । बाँझो जमीनको सदुपयोग गर्न किबी खेती विस्तार गर्न लागिएको जोशीको भनाइ छ । 

जिल्लामा मोदी गाउँपालिकाको भुकताङ्ले र चित्रे तथा जलजला गाउँपालिकाको लेखफाँट र शालिजामा किवी खेती गरिँदै आएको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा बिक्री हुँदै आएको छ । यहाँ सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबीको खेती गर्ने गरिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया