स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक : प्रम ओली

५ बर्ष अगाडि

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
   नेपाल  निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले आज सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले स्वदेशी निर्माण व्यवसायीहरुको स्तर र क्षमता वृद्धि गर्नमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । देश विकासको जिम्मा निर्माण क्षेत्र कै काँधमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो पेशालाई मर्यादित बनाउन आग्रह गर्नुभएको छ । “तपाईंहरुको काँधमा  देश निर्माणको ठुलो जिम्मेवारी छ । तर तपाईंहरु भित्र रहेका विसंगतिहरुको अन्त्य हुनु पनि जरुरी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “एउटा काम गर्न सक्ने क्षमता भएको व्यवसायीले २० वटा काम जिम्मा लिने । अनि एक बर्षमा सकिने कामका लागि २०बर्ष पर्खनु पर्ने ? यस्तो थिती अब चल्दैन ।”
  प्रधानमन्त्री ओलीले सबै उत्पादनसँग निर्माण क्षेत्र सम्बन्धित रहेको बताउनुभएको छ । “किसानले उत्पादन गरेको कृषि उपज आयात निर्यात गर्न होस वा कुनै औद्योगिक उत्पादन आपूर्ती गर्न  निर्माण क्षेत्र कै भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
 निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “हालै जारी गरिएको मुलुकी संहिता अथवा अन्य कुनै विद्यमान कानुनले कही कतै अफ्ठेरो परेको छ भने त्यो संसोधन गरिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर त्यो सबै तपाईंहरुको पक्षमा हुन्छ भन्ने हुदैन । जनताको पक्षमा हुने गरी संसोधन गरिन्छ ।”

५ बर्ष अगाडि

प्रतिक्रिया