साम्राज्ञीलाई प्रदीपको मौन समर्थन !

३ बर्ष अगाडि

गएको हप्ता साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफूले अभिनय गरेका ८ फिल्ममध्ये तीन फिल्मको सेटमा निर्मातारनिर्देशकबाट नराम्रो व्यवहार सहनु परेको बताएकी थिइन् । उनले आफूप्रति लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै अभिनेता केसीले फेसबुकमा स्टाटस लेख्दै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै ‘ड्रिम्स’ को नाम भजाएर खाइरहेको आरोप लगाए ।
 
उनको जवाफको प्रतिउत्तरमा साम्राज्ञीले इन्स्टामा अर्को भिडियो साझेदार गर्दै जापानमा भएको अवार्डमा आफूमाथि भुवन केसीले दुर्व्यवहार गरेको र भविष्यमा यस्ता व्यवहार भए कानुनी बाटो रोज्ने चेतावनी दिइन् । अभिनेता केसीले आफ्नो मान प्रतिष्ठामा आँच पुग्ने गरि पुनः यस्ता झुटा आरोप लगाए साइबर क्राइमको मुद्धा हाल्ने चेतावनी दिएपछि भने साम्राज्ञी मौन देखिएकी छन् ।
 
साम्राज्ञी र भुवनको विवादमा फिल्मकर्मी र दर्शकहरु विभाजित देखिएका छन् । कतिले भुवन केसीको समर्थन गरेका छन् भने कतिले आफूमाथि भएको दुर्व्यवहारको विरुद्ध आवाज उठाउने हिम्मत गरेकोमा साम्राज्ञीको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनीहरुबीचको विवादलाई लक्षित गर्दै अभिनेता प्रदीप खड्काले हर कोही कुनै न कुनै रुपमा पीडित रहेको बताएका छन् । 

जो कोहीले शारीरिक या मानसिक रूपमा टुटेको अनुभव गरेको उनको भनाई छ । उनले इन्स्टा स्टोरीमा लेखेका छन्, ‘हामीमध्ये बढीजसो व्यक्तिले चिन्ता, नर्भस र तनावको विकास गरेका छौं । यदी तपाईं असामान्य महशुस गरिरहनु भएको छ भने आफ्ना नजिकका व्यक्तिलाई बताउनुहोला ।’ प्रदीप खड्काको यो कुराले साम्राज्ञीलाई उनले मौन समर्थन गरेको बुझ्न गाह्रो पर्दैन ।
 
लकडाउनपछि प्रदीप र साम्राज्ञीले पहिलो पटक फिल्ममा एकसाथ काम गर्दैछन् । हेमराज विसीको फिल्म ‘अशुभ विवाह’ मा उनीहरुको जोडी बाँधिएको छ । चाँडै अनस्क्रिन रोमान्स गर्न लागेको अभिनेत्रीले भुवन केसीबाट नराम्रो व्यवहार सहनु परेको बताएपछि प्रदीपले उनलाई समर्थन जनाउनु आश्चर्यको कुरा भएन । तर, खुलेरै समर्थन गर्न चाहिँ किन गाह्रो लागेछ कुन्नी ?

 

 

 

 

३ बर्ष अगाडि

प्रतिक्रिया