भन्सालीले सुशान्तलाई अफर गरेका थिए चार फिल्म

३ बर्ष अगाडि

मुम्बई पुलिसले अभिनेता सुशान्त सिंह राजपूतको सुसाइडको मामलामा अनुसन्धान गरिरहेको छ । पुलिसका अनुसार, बलिउड निर्देशक सञ्जय लीला भन्सालीले सुशान्तलाई चार फिल्मको अफर गरेका थिए । जसमध्ये तीन फिल्म ब्लकबस्टर र एउटा फिल्म असफल भएको थियो । समय अभावका कारण सुशान्तले भन्सालीका कुनै फिल्ममा काम गर्न नसकेको प्रहरीको भनाई छ ।
 
भन्सालीले प्रहरीसँगको बयानमा ‘गोलियो की रासलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ सुशान्तलाई अफर गरेको बताएका छन् । जसमध्ये ‘रामलीला’ र ‘बाजीराव’ मा उनलाई लिड रोलमा अफर गरिएको थियो । फिल्म ‘पद्मावत’ मा सुशान्तलाई राजाको भूमिका अफर गरिएको थियो, पछि त्यो भूमिका शाहिद कपूरले गरेका थिए । यी फिल्म उनले समय अभावले गर्न सकेका थिएनन् । 
 
त्यस्तै, सुशान्त र यशराज फिल्मसबीच तीन फिल्मका लागि सम्झौता भएको थियो । सुशान्त २०१५ सम्म यशराजसँग सम्झौतामा थिए । सुशान्तले यशराजसँग पहिलो फिल्म ‘शुद्ध देसी रोमान्स’ गरेका थिए, यसका लागि उनलाई ३० लाख दिइएको थियो । दोस्रो फिल्म ‘डिटेक्टिभ ब्योमकेश बक्शी’ मा १ करोड पाएका थिए । तेस्रो फिल्म ‘पानी’ थियो । तर, यो फिल्म निर्माण हुन सकेन ।
 
मुम्बई पुलिसले शनिवार यशराज फिल्म्सको कास्टिङ डाइरेक्टर शानू शर्माको बयान लिएको छ । त्यस्तै, प्रहरीले सुशान्तको बिल्डिङको सिसिटिभी फुटेज पनि हात पारेको छ । फरेन्सिक एक्सपर्टको मद्दतबाट रिकर्डिङको विश्लेषण गरिनेछ । सुशान्तले १४ जूनमा मुम्बईको बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए । उनी डिप्रेसनमा रहेको बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया