बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति

३ बर्ष अगाडि

बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए ।

आयोजनाका लागि आवश्यक उपकरण राख्ने गरिएको भण्डार केन्द्रसमेत बाढीले क्षतिग्रस्त पारेको छ । उनले भने, “आयोजनाका लागि तीन वटा  टर्बाइन रनर, जीआइएस र जिटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरण ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । ”

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आयोजनामा व्यापक क्षति भएको बताए । “ड्याममा क्षति भएको छ । पावर हाउसमा पहिरो गएको छ । आयोजनाका सामान राखेको गोदाम केही बगाएको छ भने केही पुरिएको छ”, उनले भने। मध्यभोटेकोशी आयोजनामा पुरिएका सामान क्रेनले निकाल्ने काम भइरहेको उहाँले जानकारी दिए । 

सभामुमख प्रभावित क्षेत्रमा

सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसेको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् छ ।   यसैगरी वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

चार घाइतेलाई काठमाडौ लगियो 

 यसैगरी बाह्रबीसे बाढीमा परी घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइते फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल लगिएको उनले जानकारी दिए  ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया