स्वीटजरल्याण्डमा प्रधानमन्त्री ओलीको ५.५ मिलियन डलर लुकाएको दावी

३ बर्ष अगाडि

 

काठमाडौंँ । फ्रान्समा रहेको ग्लोबल वाच एनालिसिस डटकमले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै एक रिपोर्ट प्रकाशित गरेको छ । उक्त रिपोर्टमा प्रधानमन्त्री ओलीले ठूलो रकम घुस लिएको र उनको सम्पत्तिमा ठूलो वृद्धि भएको आरोप लगाइएको छ । रिपोर्टमा उनले उक्त रकमले नेपालबाहिर लगानी गरेको दाबी गरिएको छ । चीनबाट उक्त रकम प्राप्त भएको र त्यही अनुसार चीनको व्यवसायिक योजनालाई नेपालमा लागू गरेको उक्त अनलाइनले दाबी गरेको छ ।

प्रधानमन्त्री ओलीको स्विटजरल्याण्डको जेनेभास्थित मिराबाड बैंकमा एकाउन्ट रहेको र त्यहाँ ५।५ मिलियन डलर जम्मा रहेको उक्त अनलाइनले दाबी गरेको छ । यसबाट प्रधानमन्त्री ओली र उनको पत्नी राधिका शाक्यलाई वार्षिकरुपमा ०।५ मिलियन डलर रकम प्राप्त भइरहेको रिपोर्टमा भनिएको छ ।

फ्रेन्च पत्रकार रोनाल्ड ज्याकवार्डले लेखेको उक्त रिपोर्टमा प्रधानमन्त्रीको रुपमा पहिलो कार्यकालमा ओलीले नेपालका लागि तत्कालिन चिनियाँ राजदूत वु चुन्ताइको सहयोगमा कम्बोडियाको दुरसञ्चार क्षेत्रमा लगानी गर्न सुरु गरेको बताइएको छ । यो डिललाई ओली निकट मानिएका स्वर्गीय व्यवसायी आङ काजी शेर्पाले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको हस्तक्षेप र फेनोम फेनमा रहेका शीर्ष चिनियाँ कुटनीतिज्ञको सहयोगमा पुरा गरेको दाबी गरिएको छ ।

पछि प्रधानमन्त्री ओलीले सन् २०१९ मा कम्बोडियाको भ्रमण गरेका थिए ।रिपोर्टमा प्रधानमन्त्रीका राजनीतकि सल्लाहकार विष्णु रिमालका छोराको अगुवाइमा प्रधानमन्त्री कार्यालयमा ‘डिजिटल एक्सन रुम’ निर्माणमा भएको भ्रष्टाचार, नेपाल टेलिकममा फोरजी नेटवर्क विस्तारमा भएको अनियमितता, बुढीगण्डकी जलविद्युत आयोजनामा भएको चलखेल तथा कोभिड–१९ को महामारीका बेला विवादीत ओम्नी ग्रुप मार्फत भएको भ्रष्टाचारको बारेमा पनि उल्लेख गरिएको छ ।
http://global-watch-analysis.com/nepal-les-sulfureuses-accointances-chinoises-du-premier-ministre-kp-sharma-oli/?fbclid=IwAR1q1EMNg_Kk4fo4EMc-4vC0072oUT-1_ZV92rf8QsQ5CEN2emBuq7_FcNU&lang=en

३ बर्ष अगाडि

प्रतिक्रिया