सात प्रदेशका नेपाली मौलिक खानाको प्रदर्शन

३ बर्ष अगाडि

बन्दाबन्दी खुलेसँगै पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय गतिविधि बढेका छन् । बन्दाबन्दीले करिब चार महिना व्यवसाय प्रायःठप्प भएकाले पुनः पर्यटनलाई चलायमान बनाउन पर्यटन व्यवसायी लागि परेका हुन् ।

बन्दाबन्दीका कारण होटल तथा रेष्टुराँ व्यवसाय बन्द रहेपछि लामो समय घरमै थन्किएका सेफले नेपाली मौलिक खाना प्रदर्शन गरेका छन् । मौलिक खानाका नयाँ स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ ललितपुरको सातदोबाटोस्थित आएएचएम कलेजमा शुक्रबार खानाका परिकार प्रदर्शनी भएको हो । नेपाली मौलिक खानाको प्रवद्र्धन कार्यक्रममा करिव ३० जना सेफले देशका सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातीका १३ वटा रैथाने खानालाई तयारी गरी प्रदर्शन गरेका थिए ।

प्रदेश एकबाट राजवंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, राई समुदायको किनामा, वाग्मती प्रदेशबाट नेवार समुदायको चटामरी, आलु, तामा र बोडी, त्यस्तै गण्डकी प्रदेशबाट आलङ्खु र काटुङ, प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा कर्णाली प्रदेशबाट मार्सी चामलको भात र कोदोको ढिडो, सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व रहने गरी रोटा र चटनीलाई ‘प्लेटिङ’ गरेका थिए ।

लकडाउनका कारण ग्रामीण पर्यटनमा परेको प्रत्यक्ष असर र त्यसमा पनि होमस्टे व्यवसाय अझै केही समय बन्दै रहने अवस्थाका बीच सेफले मौलिक खानाको स्वादबाट उपभोक्तालाई आकर्षित गर्ने र यसले मौलिक खानाको पनि प्रदर्शन हुने आयोजकको विश्वास छ । आइएचएम कलेजसँगको सहकार्यमा ग्लोबल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पीटालिटी गाइड्सले व्यवस्थापन गरेको यस कार्यक्रममा तारागाउँ विकास समितिका होमस्टे प्रशिक्षक रामप्रसाद उपाध्यायले सहभागी सेफ प्रशिक्षकलाई बदलिँदो अवस्थामा होमस्टेको व्यवस्थापन र सेफले व्यवसाय प्रवर्द्धन मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी० का पाठ्यक्रम विकास महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीले नेपाली सेफ प्रशिक्षक र प्रशिक्षार्थी केन्द्रित रहँदै नेपाली मौलिक खानाको विषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिरहेको बताए। विज्ञसँग अहिले राय सल्लाह लिने, अध्ययन, छलफल गर्ने र आवश्यक सहजीकरणको कार्यलाई सिटिइभिटीले प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताए।

त्यस्तै घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएशन अफ नेपालका अध्यक्ष केशव बडालले मौलिक खानाको प्रवर्द्धन ले मात्रै होमस्टे व्यवसायलाई अहिलेको अवस्थामा उठाउन मद्दत पुग्ने बताए।

३ बर्ष अगाडि

प्रतिक्रिया