यस्तो रहेछ राजधानीमा लगातार विद्युत् काटिनुको कारण

६ बर्ष अगाडि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अन्त्य गरेर वाहवाही कमाएपनि व्यवस्थापकीय काममा ध्यान दिन नसक्दा विद्युत् प्रणाली सहज रुपमा सञ्चालन गर्न समस्या हुँदै गएको छ ।
राजधानी काठमाडौँमा एक पछि अर्को गर्दै लगातार विद्युत् काटिनु, अघोषित मात्रामा लोडसेडिङ हुनुको पछाडि पनि व्यवस्थापकिय समस्या नै प्रमुख देखिएको छ ।
राजधानीका हरेक स्थानमा न्यूनतम एक आधा र अधिकतम दुई घन्टासम्म नियमित विद्युत् जानुको पछाडि ट्रान्सफर्मरको क्षमता र प्रसारण प्रणालीमा रहेको समस्या नै प्रमुख कारण बनेको छ । तर त्यसलाई समाधान गर्न प्राधिकरण चुक्दै आएको छ ।
व्यवहारतः लोडसेडिङको अन्त्य भएको भनिएपनि आवश्यक परेको बेलामा लोडसेडिङ हुने गरेको छ । प्राधिकरणले मागको तुलनामा ट्रान्सफर्मर उपलब्ध गराउन नसक्दा काठमाडौं उपत्यका भित्र विद्युत् चुहावट नियन्त्रण तथा सहज विद्युत् व्यवस्थापनमा समस्या पर्ने गरेको पाइएको छ । काठमाडौं उपत्यकामा मात्रै करिब एक हजार थान नयाँ ट्रान्सफर्मरको माग आएको छ । तर प्राधिकरणले मागअनुसार ट्रान्सफर्मर व्यवस्थापन गर्न सकेको छैन ।
काठमाडौँ उपत्यकामा मात्रै ठूला क्षमतामा करिब ७०० ट्रान्सफर्मरको माग रहेको छ  भने साना क्षमतामा ३०० बढी थान ट्रान्सफर्मरको माग आएको छ । मागको तेलनामा करिब ३० प्रतित मात्रै ट्रान्सफर्मर उपलब्ध हुन सकेको छ । वितरण प्रणाली परम्परागत हुनु, ओभरलोड हुनु तथा वितरण प्रणालीले सहज रुपमा काम नगर्दा दैनिक जसो नै समसया बढ्दै गएको छ ।
उपत्यका भित्र सबैभन्दा बढी विद्युत् चोरी हुने गरेको ललितपुरमा मात्रै थप २०० नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने देखिएको छ । तर त्यसतर्फ प्राधिकरणले हालसम्म ध्यान दिएको छैन ।
काठमाडौँमा थप ५०० नयाँ ट्रान्सफर्मर जडानका लागि माग आएको छ । विद्युत् माग बढ्दै जाँदा नयाँ ट्रान्सफर्मरको समेत माग बढेको हो । यस्तै बढी विद्युत् चोरी हुने जिल्लाको रुपमा परिचित भक्तपुरमा पनि २०० को हाराहारीमा नयाँ ट्रान्सफर्मर माग आएको सम्बन्धित कार्यालयले जनाएका छन् । यस्तै सञ्चालनमा रहेका ट्रान्सफर्मरको क्षमता वृद्धिका लागि पनि आवेदन परेको छ ।
काठमाडौँ उपत्यको विद्युत् वितरण प्रणाली परम्परागत प्रकारको रहेको छ । राणा कालमा नै जडान गरिएको प्रसारण प्रणालीले राजधानीको विद्युत् व्यवस्थापन भइरहेको छ । हालकै संरचनाले अबको दुई वर्षपछि समस्या पार्ने नेपाल विद्युत् प्राधिकरणको बुझाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार हालको विद्यमान वितरण प्रणालीको सुधार नगर्ने हो भने आगामी दुई वर्षपछि भार व्यवस्थापनमा समस्या पैदा भएर लोडसेडिङ गर्नुपर्ने हुन सक्छ ।
अधिकाशं स्थानमा २५ केभीएका ट्रान्सफर्मर जडान भएका छन् । ती स्थानमा कम्तीमा पनि १०० केभीएका नयाँ ट्रान्सफर्मरले विस्थापन गर्नुपर्नेछ । यस्तै ५० केभीएकालाई कम्तीमा पनि १५० केभीएको ट्रान्सफर्मरले विस्थापन गर्नुपर्नेहुन्छ । यस्तै बढी लोड भएका स्थानमा २०० एमभीएको ट्रान्सफर्मर जडान गर्नुपर्ने देखिएको छ ।
नयाँको माग पनि उत्तिकै रहेको छ । यस्तै पूरानाको विस्थापन पनि जरुरी देखिएको छ । भोल्टेज व्यवस्थापनका लागि पनि केही न केही गर्नैपर्ने वाध्यता आइपरेको प्राधिकरणको बुझाइ छ । तर बुझाई भएपनि काम भने सुरु हुन सकेको छैन ।
यस्तै  प्राधिकरणलाई राजधानीका  विभिन्न स्थानमा ट्रान्सफर्मर जडान गर्ने ठाउँ नहुँदा समेत समस्या पैदा भएको छ । बढ्दो मागअनुसारको आपूर्ति व्यवस्थापन गर्न नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने भएपनि स्थानीयबकासीले नयाँ ट्रान्सफर्मर जडानका लागि स्थान उपलब्ध गराउन अटेर गर्दै आएको गुनासो पनि उत्तिकै आएको छ ।
ठाउँ नपाउँदा समस्या भएको छ भने कतिपय स्थानमा वितरण प्रणालीमा नै सुधार गर्नुपर्ने देखिउको छ ।  सहरी क्षेत्रमा मानव बस्तीको बढी चाप भएको भित्री बजार, गाँउ बस्ती तथा बजार क्षेत्रमा समेत सार्वजनिक जग्गा उपलब्ध हुन सकेको छैन ।
भित्री बजार क्षेत्रमा ट्रान्सफर्मर जल्ने तथा पड्किने त्रासले स्थानीयले राख्न नदिने प्राधिकरणको बुझाइ छ ।  ट्रान्सफर्मर राख्ने स्थानको अभावले पनि समस्या खडा गरेको छ । त्यसका कारण वितरण प्रणाली सुधारमा समेत समस्या खडा भएको छ ।
माग अनुसारको नयाँ ट्रान्सफर्मर जडान गर्न प्राधिकरण तयार भएपनि प्राधिकरणले उपयुक्त जग्गा पाउन सकेको छैन । प्राधिकरणको कुल ग्राहक संख्या मध्ये दुई तिहाई बढी संख्या राजधानीमा नै रहेको छ ।
राजधानी बाहिरको ग्राहकको संख्या एक तिहाई मात्रै हो । महिना दिनमा नै मागको मात्रा समेत उल्लेख्य रुपमा बढ्न जान्छ । मागलाई व्यवस्थापन गर्न पन िनयाँ नयाँ उपकरण जडान गर्नुपर्ने देखिन्छ । तर स्थान अभाव तथा स्थानीयको असहयोगका कारण पनि नयाँ ट्रान्सफर्मर जडानका लागि समस्या पर्ने गरेको छ ।
अत्याधिक मात्रामा विद्युत्  माग भएका स्थानमा स्थानीय तहका जनप्रतिनिधिसँग परामर्श गरेर ट्रान्सफर्मर थप गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणको भनाइ छ । तर समस्या समाधान गर्न सबैभन्दा जटिल रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया