कर्फ्यु लगाउ सरकार,नत्र कोरोनाले अब लाश उठाएर सकिँदैन : डा. ज्ञवाली

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण गरेका डा. प्रेम ज्ञवालीले कोरोना संकट गम्भीर मोडतर्फ गइरहेकोले अब लकडाउनले मात्रै स्थिति सम्हाल्न नसकिने बताएका छन् । 

शनिबारं संक्रमितको संख्या २० हजार नाघेसँगै डा. ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउने हो भने अब लकडाउन मात्रै नभएर कर्फ्यु नै लगाउनुपर्ने बताए । 

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक रहेका डा. ज्ञवालीले भने, ‘अब ७७ वटै जिल्लामा २१ दिनलाई कर्फ्यु लगाऊँ, सिमाना पूरै बन्द गर सरकार । अन्यथा लाश उठाएर सकिने सम्भावना रहने छैन।’

उनले देश नै संकटमा परेको अवस्थामा नागरिकको मानवअधिकार भनेर बस्‍न नसकिने तर्क गरेका छन्। ‘यस्तो अवस्थामा ब्यक्ति विशेष र मानव अधिकार भन्‍ने कुरा रहँदैन’, उनले भनेका छन्, ‘नपालीलाई लकडाउनले काम गर्दैन।’

गत चैत ११ देखि लकडाउन गरेको सरकारले साउन ७ गते लकडाउन खुला गरेसँगै देश कोरोनाको गम्भीर संकटतर्फ धकेलिइरहेको छ। 

पछिल्लो दुई सातायता भेटिएका संक्रमितहरुमा गम्भीर खालका लक्षण देखिएका छन् भने आइसियु र भेन्टिलेटरमै राख्‍नु परिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। 

संकट चुलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी भित्रिने नाका बन्द, सवारीसाधनमा पुनः जोरबिजोर र कडा खालको दोस्रो लकडाउन गर्नुपर्ने जरुरी रहेको बताइसकेको छ। 
स्वास्थ्यकै सिफारिस अनुसार अहिले राजधानी छिर्ने नाकामा कडाइ गरिएको छ भने जोरबिजोर पनि लागु गर्ने आन्तरिक तयारीमा सरकार जुटेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया