निरुताको ‘सपनाको महानायक’ भुवन केसी

३ बर्ष अगाडि

तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’ बाट निरुता सिंहले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसमा उनको अपोजिटमा भुवन केसी थिए । यो फिल्म बक्सअफिसमा सुपरहिट भएपछि निरुताको करिअरले एकाएक उचाइ लिएको थियो । यसकारण पनि उनका लागि यो फिल्म निकै विशेष छ । ‘दक्षिणा’ पछि निर्देशक घिमिरेका हरेक फिल्ममा उनले स्थान पाउन थालेकी थिइन् । 
 
दार्जीलिङमा जन्मे हुर्केकी उनले नेपाली फिल्मको हिरोइन हुने कहिल्यै कल्पना समेत गरेकी थिइनन् । तर, जीवनमा कहिले काहिँ नसोचेका कुरा भइदिन्छन् । निरुताको जीवनमा पनि त्यही भयो । उनका पितासँग तुलसी घिमिरेको राम्रो सम्बन्ध भएका कारण उनी ‘दक्षिणा’ की हिरोइन बनिन् । डेब्यू फिल्ममै भुवन केसीसँग काम गर्न पाउनु उनका लागि अर्को खुसीको कुरा थियो । 
 
हाल भारतको मुम्बईमा रहेकी निरुताले भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेकी छन् । नेपाली फिल्मको नायक र नायिकाको रुपमा पहिलो पटक चनेको नै भुवन केसी र तृप्ति नाडकर रहेको उनको भनाई छ । उनले शनिवार फेसबुकमा एक स्टाटस लेख्दै पहिलो फिल्ममा नै भुवन केसीसँग काम गर्न पाउँछु भनेर आफूले सपनामा पनि नसोचेको उल्लेख गरेकी छन् ।
 
आफूलाई पहिलो फिल्ममा भुवन केसीले निकै सहयोग गरेको बताउँदै निरुताले लेखेकी छन्, ‘भुवन दाई हजुरले गर्नुभएको हर सहयोग अनि मायाको लागि मुरी मुरी धन्यवाद । हजुरको त्यो माया र सहयोग म मेरो जीवनको अन्तिम दिनसम्म भुल्ने छैन । हजुर मेरो लागि रियल हिरो हो ।’ उनले पछिल्लो पटक अभिनेता भुवन केसीसँग फिल्म ‘क्याप्टेन’ को एक गीतमा नृत्य गरेकी थिइन् । 

महानायक’ विवाद र साम्राज्ञी आरएल शाहले भुवन केसीमाथि दुव्र्यवहारको आरोप लगाएको समयमा निरुताको यो भनाईलाई सामान्य रुपमा बुझ्न सकिन्न । उनले घुमाउरो शैलीमा भुवन केसीलाई ‘महानायक’ भनेकी छन् । त्यस्तै, पहिलो फिल्ममा भुवन केसीले आफूलाई निकै सहयोग गरेको बताउनुले साम्राज्ञीले लगाएको आरोपमा सत्यता नभएको उनको आशय हुनसक्छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया