तनहुँको  दमौलीमा गण्डकी प्रदेशकै ठूलो सभाहल

३ बर्ष अगाडि

गण्डकी प्रदेशकै ठूलो ‘तनहुँ सभाहल’ तनहुँको सदरमुकाम दमौलीमा निर्माण गरिएको छ । करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।  

विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड–१९ का कारण नेपाल सरकारले गरेको बन्दाबन्दीको घोषणापछि निर्माणकार्य प्रभावित बनेको हो ।
भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेको छ । रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको निर्माणको जिम्मा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडांले पाएको हो ।  

व्यास नगरपालिका–३ बिपी वनबाटिकामा निर्माणाधीन उक्त भवनको करिब ३५ प्रतिशत काम सम्पन्न गर्न बाँकी देखिएको श्री डाँफे एमए प्रतिष्ठा जेभीका साइड सुपरभाइजर गौतम घिमिरेले जानकारी दिनुभयो । करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।     
     
उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा उक्त भवन निर्माण अघि बढाइएको हो । उक्त भवनमा प्लम्बिङ, बिजुली, पानी जडानका साथै फिनिसिङलगायतका काम बाँकी रहेको बताइएको छ ।     
     
बन्दाबन्दी खुलेसँगै उक्त भवनको निर्माणकार्य शुरु गरिएको छ । अहिले १४ कामदार परिचालन गरी तीव्ररूपमा भवन निर्माणको काम भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र शहरी विकास तथा भवन निर्माण विभाग आयोजना व्यवस्थापन कार्यान्वयन एकाइ पोखराका सवइञ्जीनीयर अर्जुन सुवेदीले गत शुक्रबार निर्माणाधीन सभाहल भवनको अनुगमन गरेका थिए । 

विसं २०७४ पुस १३ मा सम्झौता गरी तीन वर्षमा सम्पन्न गर्ने योजना रहे पनि बन्दाबन्दीका कारण निर्माणकार्यमा ढिलाइ हुन गएको निर्माण कम्पनीले जनाएको छ ।    
 

३ बर्ष अगाडि

प्रतिक्रिया