डिशहोमले आक्रामक बजार विस्तारको योजना सहित सुरु गर्‍यो इन्टरनेट सेवा

३ बर्ष अगाडि

काठमाडौं - डिश मिडिया नेटवर्क लिमिटेडले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको छ । गएको माघमा नेपाल दूरसञ्चार प्राधिरकणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त गरेको डिश मिडियाले आक्रामक बजार विस्तारको योजना सहित सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अनुसार सुरुवाती चरणमा तीन स्थानमा सेवा विस्तार गरिने छ  । ‘हामीले भैंसीपाटी क्षेत्र, तिनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध क्षेत्रमा इन्टरनेट सेवा सुरु गरिसकेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘ भैंसीपाटी र कपन एरियामा आफ्नै फाइबर विस्तार गरी सेवा प्रवाह गरिरहेका छौं ।

तीनकुने–बानेश्वर क्षेत्रमा भने स्पेस टाइम्स नेटवर्क (कम्पनीकै अर्को संस्था सिम टीभी) को मुख्य कम्पनीसँग सहकार्य गरी फाइबर इन्टरनेट दिन थालेका हौं ।’

अबको एक महिनाभित्र कम्पनीले इन्टरनेट प्रयोगकर्ताको संख्या १२ हजारको हाराहारीमा पुर्‍याउने लक्ष्य लिएको छ । कम्पनीले यो वर्षभित्र उपत्यकामा रिङरोड बाहिर सेवा विस्तार गरिसक्ने योजनाका साथ काम गरिरहेको आचार्यले बताएका छन ।

उनी  भन्छन, ‘हाम्रो पहिलो योजना रिङरोडभन्दा बाहिर सेवा विस्तार गर्ने र त्यसपछि रिङरोड भित्र प्रवेश गर्ने भन्ने हो । चक्रपथभित्र सेवा विस्तार गर्दा एकै पटक ठूलोमात्रामा सेवा विस्तार गर्ने योजना छ । सुरुमा बाहिर सेवा विस्तार गरेर आधार तयार पार्दा हामीलाई पनि सहज हुने अपेक्षाका साथ यस्तो खालको रणनीति बनाइएको हो ।’

अर्कोतर्फ कम्पनीले स्याटेलाइट इन्टरनेटलाई पनि विकल्पको रुपमा अघि बढाउने जनाएको छ । गाउँ गाउँमा फाइबर विस्तार गरी सेवा दिन असहज हुने भएकाले कम्पनीले स्याटेलाइटमार्फत इन्टरने सेवा दिने गरी थालेको हो ।

आचार्यका अनुसार स्याटेलाइट इन्टरनेट नयाँ प्रविधि भएकाले सबै सामान बाहिरबाटै खरिद गर्नुपर्ने हुन्छ । तर कोरोनाका कारण आवश्यक सामान नेपाल आउन पाएको छैन । त्यसैले अहिले फाइबर इन्टरनेटबाट सेवा सुरु गरिएको उनले बताए । ‘चाँडै नै स्याटेलाइट इन्टरनेटको काम पनि सुरु गर्न सकिने अपेक्षा लिएका छौं,’ आचार्यले भने ।

३ बर्ष अगाडि

प्रतिक्रिया