लेबनानमा पूर्वप्रधानमन्त्रीको हत्याको मुद्दामा फैसला आउनुअघि ठूलाे विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु, ४ हजार जना घाइते

३ बर्ष अगाडि

लेबनानको बेरुतमा मंगलबार साँझ भएको शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने करिब ४ हजार जना घाइते भएका छन् ।  

पूर्वप्रधानमन्त्री रफिक हरिरीको सन् २००५ मा भएको हत्याको मुद्दामा फैसला आउनु केही समयअघि  दुई ठूला विष्फोट भएका थिए । 

राष्ट्रसंघीय न्यायाधिकरणले हरिरीको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो । ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए । सो समूहले उक्त हत्याका लागि आफू जिम्मेवार नरहेको बताउँदै आएको छ ।

 एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको अधिकारीहरुले दाबी गरेका छन् । राष्ट्रपति माइकल इयोनले पनि ट्वीट गर्दै २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट असुरक्षित तरिकाले राखिनु अस्वीकार्य भएको बताउँदै घटनाको अनुसन्धान हुने बताएका छन् ।

विस्फोटका बारेमा अनुसन्धान सुरु भइसकोको अधिकारीहरुले जनाएका छन् र लेबनानको सर्वोच्च अदालतको डिफेन्स काउन्सिलले दोषीहरुलाई कडा सजाय हुने बताएको छ । सन् २०१४ देखि एउटा गोदाममा विस्फोटक पदार्थ एमोनियम नाइट्रेट राखिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार गोदामको वरिपरि रहेका सबै भवनहरु ध्वस्त भएका छन् । विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार उक्त विस्फोट बेरुतको बन्दरगाह क्षेत्रमा भएको हो । पहिलो विस्फोट भएको केही समयमा दोस्रो विस्फोट पनि भएको बीबीसीले जनाएको छ । अधिकारीहरूले विस्फोटमा हताहती हुनेको संख्या निकै भएको हुन सक्ने अनुमान गरेका छन् । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा राखिएका भिडियोमा निकै ठूलो धूवाँको मुस्लो उडेको तथा भौतिक संरचनामा निकै क्षति भएको देखिएको छ ।

लेबनान सरकारले राहत र उद्धारका लागि तत्काल एक सय अर्ब लिरा (करिब ८ अर्ब नेपाली रुपैयाँ) को प्याकेज घोषणा गर्ने बताएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया