पश्चिम रुकुममा ४ सय घरमा बिजुली बल्दै

३ बर्ष अगाडि

मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ । विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत्को पहुँचमा पुग्ने भएका हुन् । 

केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याउनका लागि हाल तार विस्तारलगायतका काम धमाधम भइरहेका छन् । अबको दुई साताभित्रमा बत्ती बाल्ने गरी काम भइरहेको वडा नं ८ का अध्यक्ष बुद्धिप्रसाद बुढाले बताए । 

नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमार्फत वडा नं ७ का खालबोट, चौतारा, ग्याम्माखोला, जग्देछरा र च्यारनेटा तथा वडा नं ८ का खावाङखानी, क्वाम्मा खोला, उदिन ढुङ्गा, सल्लेधारा, घट्टेखोला र तिर्सिङ टोलमा विद्युत् पुग्दैछ । 

यसअघि यी टोलका नागरिकले स्थानीय पातलखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा लिइरहेका थिए । १८ किलोवाट क्षमताको उक्त आयोजनामा पटकपटक खराबी आउँदा समितिले सञ्चालन गर्न नसक्ने भएपछि यी टोलमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष बुढाको भनाइ छ । 

उनका अनुसार यसअघि नै गाडिएका पोलमा तार विस्तारको काम भइरहेको र प्रत्येक घरमा वायरिङको कामसमेत सकिएको छ । मिटर आउँन बाँकी रहेकाले मिटर आउने वित्तिकै सबै घरमा बत्ती बल्ने उनको भनाइ छ । 

नगरपालिकाकै सबैभन्दा विकट वडाका रुपमा रहेको वडा नं ८ मा गत माग २९ गते केन्द्रीय प्रसारण लाइनको बत्ती बलेको थियो । वडा नं ७ मा भने पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बत्ती पुग्न लागेको हो । यसअघि वडाका ३५० देखि ४०० घरपरिवारले ३९ किलोवाट क्षमताको स्थानीय साँखखोला–१ लघुजलविद्युत् आयोजनाबाट सेवा लिँदै आइरहेका छन् । 

बाँकी रहेका घरधुरीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्न लागेको वडा नं ७ का सदस्य तोकबहादुर खत्रीले जानकारी दिनुभयो । दुई वडाका ४०० बढी घरमा बिजुली बल्न लागेको उनले बताए ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया