रेसुङ्गा, फाल्गुनन्द र  खिजी चण्डेश्वरी विमानस्थलले पाए आईकाओको मान्यता

३ बर्ष अगाडि

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन  (आइकाओ) ले नेपालका तीन नयाँ विमानस्थललाई मान्यता दिएको छ ।

गुल्मीको रेसुङ्गा, इलामको फाल्गुनन्द कुसिलुम्बा र ओखलढुंगाको खिजी चण्डेश्वरी विमानस्थलले आइकाओ मान्यता प्राप्त गरेका हुन् । 

आइकाओ मान्यता पाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वटै विमानस्थललाई ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेको छ ।

जस अनुसार गुल्मीको रेसुंगा विमानस्थललाई अब एभिएशनको भाषामा ‘भीएनआरजी’ संकेत प्राप्त भएको छ । त्यस्तै इलामस्थित फाल्गुनन्द कुसिलुम्बा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार ‘भीएनएफएन’ र ओखलढुंगामा निर्माण भएको खिजी चण्डेश्वरी विमानस्थललाई ‘भीएनकेसी’ संकेत अनुसार चिनिने भएको छ । 

निर्माणाधीन अबस्थामा रहेका यी तीनवटै विमानस्थलको धावनमार्ग पिच गर्ने काम भइरहेको छ । धुले मैदानमा परीक्षण उडान भइसकेका यी विमानस्थलमा रनवे र ट्याक्सी वेमा सव वेश तयार पार्ने काम भइरहेको छ ।

तीन विमानस्थलले आइकाओबाट मान्यता प्राप्त गरेपछि नेपालमा आइकाओ मान्यता प्राप्त विमानस्थलको संख्या ५२ पुगेको छ । नेपालमा अहिले एक अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । पोखरा, भैरहवा, नेपालगन्ज र विराटनगर गरी चार वटा आन्तरिक हब विमानस्थल छन् ।

आन्तरिकतर्फ २६ विमानस्थल संचालनमा छन् । १८ वटा विमानस्थल भने बन्द अवस्थामा छन् । थप भएका यी तीन वटा विमानस्थल निर्माणाधिन अवस्थामा छन् । तीन वटै विमानस्थलको धुले मैदानमा परिक्षण उडान भएकाे छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया