नेपाल एयरलाइन्सले दाङमा नियमित उडान भर्ने (तालिका सहित)

५ बर्ष अगाडि

दाङ: नेपाल एयरलाइन्सले दाङमा नियमित उडान भर्ने भएको छ। नियमित उडानका लागि उडान कार्यतालिका समेत निगमले सार्वजनिक गरेको छ। बिहीबार निगमले दाङको हवाई सेवाका लागि समय तालिका र भाडादर कायम गरेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। 

केही दिनअघि मात्रै परीक्षण उडान गरेको निगमले त्यसको प्रतिवेदनसँगै समय तालिका पनि सार्वजनिक गरेको हो। परीक्षण उडान सफल भएको र नियमित उडानका लागि कुनै समस्या नभएको प्रतिवेदन प्राविधिकले निगमलाई बुझाएका छन्।

पहिलो चरणमा हप्तामा दुई पटक दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा उडान भर्ने तयारी भएको छ। प्रवक्ता सिग्देलका अनुसार प्रत्येक हप्ताको सोमबार र शुक्रबार उडान भर्ने गरी तालिका आएको हो।

बिहान ११ बजेर ४५ मा काठमाडौबाट भैरहवाहुँदै दाङ आउने र त्यो समय १ बजेर २० मिनेटसम्मको रहने छ। एयरलाइन्सले उडान तालिकामा राखेपछि हप्ताको दुई पटक सोमबार र शुक्रबार जहाज उड्ने पक्का भएको हो। 

दाङबाट १:३५ को समय तालिका निर्धारण गरिएको छ। पहिलो चरणका सबै उडान भैरहवा टेकअप गरेर हुने छन्। केही हप्ता पछि एयरलाइन्सले दैनिक उडान भर्ने तयारी गरिसकेको सिग्देलले बताए। 

हवाई सेवाका लागि काडमाडौ–दाङ र दाङ –काठमाडौंका लागि चारवटा भाडा दर कायम गरिएको छ। प्रवक्ता सिग्देलका अनुसार काठमाडौं–दाङका लागि ६ हजार ७० र ९ हजार ६ सय ६५ रुपैयाँ भाडा तय गरिएको छ। दाङबाट काठमाडौको लागि ५ हजार आठ सय ८० र ९ हजार ४ सय ७५ रुपैयाँ भाडा कायम गरिएको छ।

कुन भाडा कति सिटका लागि भन्ने निश्चित भइसकेको छैन। सानो जहाज र भैरहवा पनि ल्याड गर्नु परेकाले भाडा बढी देखिएको सिग्देलले बताए। मुनाफा भन्दा पनि खर्च मात्रै व्यवस्थापन हुने गरी भाडा तोकिएको सिग्देलको भनाई छ।

उनले दाङ–भैरहवाको हवाई भाडा समेत तय गरिएको बताए। दाङ–भैरहवाको भाडादर ३ हजार दुई सयदेखि ४ हजारसम्म तोकिएको छ। अहिले दाङका १७ सिटे जहाजले नियमित उडान भर्दैछन्। यात्रुको चापका आधारमा उडान सेवालाई बढाउँदै लगिने उनले बताए।

शुक्रबारदेखि दाङका लागि टिकेट खुला गरिने र टिकेटको व्यवस्था एयरलाइन्स आफैले गर्ने छ। 

 

५ बर्ष अगाडि

प्रतिक्रिया