(Thursday, 18 October, 2018)
By: आजको अर्थ
असोज २०, २०७५

काठमाडौं–२०५३ फागुन १५ मामोतीलाल बोहोराको पदावधि सकिँदै थियो । अच्युतकृष्ण खरेल र धु्रवबहादुर प्रधान भावी आइजिपीका दाबेदार थिए । खरेललाई आइजिपी बन्नका निम्ति २० लाख रूपैयाँ तयार पार्ने सुझाव आयो । सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली ब्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल दुबिधामा परे । उनको प्रतिक्रिया के रह्यो ? के खरेल आइजिपीको फुली लगाउनको निम्ति त्यो प्रस्ताव स्विकार्न तयार भए ? पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको आज सार्वजनिक भएको आत्मकथामा ती शक्तिशाली ब्यक्तिहरूको वर्णन र यस्ता थुप्रै चाखलाग्दा कथाक्रमले भरिएका छन् । अच्युतकृष्ण फुटबलका सोखिन थिए । खेल्न पाइन्छ भनेरै प्रहरीमा भर्ती भए । कालान्तरमा उनले यी दुवै क्षेत्रमा सर्वोच्च तहसम्मको यात्रा तय गरे । उनी फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने, प्रहरी फोर्समा महानिरीक्षक । आफ्नो फुटबल करिअरमा उनले खुब प्रशंसक कमाए । प्रहरी फोर्समा धेरैसँग दुश्मनी मोले । चितवन र भैरहवामा गुन्डा र तस्करहरूसँग भिडे । डाँका पक्रन सीमापार गए । तस्करको बचाउ गर्ने राजनीतिक नेताहरूसँग पटक–पटक झुत्ती खेले । लागुपदार्थ दुव्र्यसन र गुन्डागर्दी रोक्न लामो कपाल पाल्नेलाई समात्दै कपाल कटाइदिने गरेको घटना चर्चित छ । करिब ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल महत्वपूर्ण राजनीतिक तथा प्रहरी संगठनभित्रका उथलपुथलपूर्ण घटनाक्रमका साक्षी हुन् । पछिल्लो समय साढे ३३ किलो सुन तस्करी छानबिनमा केही वरिष्ठ प्रहरी अधिकृत मुछिएका छन् । खरेलको आत्मकथाले सुन तस्करीका थप रहस्य उजागर गरेको छ । विगतमा दरबारकै निगरानीमा सुन तस्करी हुन्थ्यो भन्ने उनले खुलासा गरेका छन् । प्रजातन्त्र पुनस्र्थापनापछि राजनीतिक दलका केही नेताले तस्करको पक्षमा लागेर प्रहरी संगठनमाथि दबाब दिएको वृत्तान्त पनि आत्मकथामा छ । प्रहरी इतिहासमा पूर्व महानिरीक्षक डिबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडिसी कर्णेल भरत गुरुङ पक्राउ परेको घटना चर्चित छ । उक्त प्रकरणमा लामा र गुरुङसँग बयान लिने जिम्मेवारी खरेललाई थियो । सार्वजनिक चासोका साथ हेरिएको यो ‘हाई–प्रोफाइल’ घटना कसरी अघि बढ्यो भन्नेबारे खरेलले विस्तार लगाएका छन् । २०५७ साउन २२ गते गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको मृत्यु भयो । राजपरिवारकै सदस्य संलग्न यो घटना प्रहरी संगठन निम्ति सम्भवतः सबभन्दा दुबिधापूर्ण परिस्थिति थियो । त्यति बेला दोषीलाई जोगाउन कसरी चलखेल भयो भन्ने रोचक वर्णन आत्मकथामा छ । यति मात्र होइन, प्रहरी नियुक्ति, सरुवा–बढुवामा हुने राजनीतिक हस्तक्षेपदेखि संगठनभित्रै उपल्लो दर्जाका हाकिमलाई गरिने चाकडीको खुलासा गरेका छन्, खरेलले । उनको जीवनको आरोह–अवरोह फोर्सको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखीझयाल पनि हो । उनले तत्कालीन दरबार र पञ्चहरूको दबदबा देखे । २०३६ सालको प्रजातान्त्रिक आन्दोलन भोगे । २०४६ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप खेपे । प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरू र दलीय प्रवृत्ति, राज्यका विभिन्न संयन्त्रसँग दरबारको अन्तरसम्बन्ध, माओवादी र सरकारबीच हिंसात्मक द्वन्द्व लगायत परिवर्तनका धेरै लहर उनले सामना गरे । माओवादीसँग लड्न दरबारले प्रहरीलाई अत्याधुनिक हतियार नदिने र सेना परिचालन पनि नगर्ने जटिल परिस्थितिका उनी भुक्तमान हुन् । प्रहरी संगठनभित्र हाबी राजनीतिकरण उनले आफ्नै आइजिपी नियुक्तिमा बेहोरेका छन् । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरी संगठनको नेतृत्व सम्हालेका उनी दल, दरबार र सेनाबीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजीनामा दिएर विदा भएका थिए । अच्युतकृष्ण खरेलको आत्मकथाले एक प्रहरी अधिकृतको चौबीसघन्टे रापिलो यात्रा अनुभूति गराउँछ । सँगसँगै, त्यो बेलाको नेपालको खेलकुद क्षेत्रको दुरावस्था छर्लंग पार्छ । एक प्रहरी अधिकृत र खेलाडीका रूपमा खरेलको भोगाइलाई आजको अवस्थासँग तुलना गरेर हेर्दा धेरै वस्तुस्थिति दुरुस्तै छन् । ‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भने, ‘मेरो उद्देश्य जीवनको आरोह–अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्र हो ।’ प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ । पुस्तक आगामी नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत