फोरजी सेवा विस्तारमा सञ्चारमन्त्री बस्नेतको यस्तो बदमासी

६ बर्ष अगाडि

काठमाडौंँ – सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले प्रक्रिया नपु-याई चिनियाँ कम्पनी हुवावे र जेटिई कम्पनीलाई नेपाल टेलिकमको फोर जी एलटिई सेवा विस्तारको अनुमति दिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ ।
 
गत पुस २१ गते विभिन्न ६ वटा  अन्तर्राष्ट्रिय कम्पनीका तर्फबाट नेपाली साझेदारले सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएका हुन् ।
 
मन्त्री बस्नेतले टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई समेत जानकारी नदिइ केही कर्मचारीको सहयोगमा चिनियाँ कम्पनीलाई गैरकानुनी रुपमा फोर जी सेवा विस्तारको लागि अनुमति दिएको उनीहरुको दावी छ ।
 
फोर जी नेटवर्क विस्तारका लागि त्यसको सामान आयात, जडान तथा सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरका उपकरण निर्माता कम्पनीहरुबाट प्रस्ताव आह्वान गरिएको थियो ।
 
१० जनवरी, २०१८ सम्म समयसीमा रहेको भएपनि मन्त्री बस्नेतको ठाडो आदेशमा केही दिन पहिल्यै चिनियाँ कम्पनीलाई फोर जी विस्तारको ठेक्का दिइएको छ ।
 
रातोपाटीलाई प्राप्त विवरणमा भनिएको छ –‘ स्थलगतनिरीक्षण पश्चात जडान योजनाको कार्य सञ्चालनगर्ने गरी नेपाल सरकार सूचनातथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको नेपाल दूरसंचार कम्पनी लि. का तर्फबाट १० जनवरी २०१८ सम्मको समय सिमा तोकि उक्तप्रविधि जडान गर्न सक्षम कम्पनीहरुको लागिअन्तर्राष्ट्रिय स्तरको टेण्डर (प्रस्ताव) नोभेम्बर ८, २०१७ मा प्रस्ताव आह्वान भएको थियो ।’
 
तोकिएको समयसीमा भित्र बैंक ग्यारेन्टी, अन्य प्रविधि तथा योग्यता सम्बन्धी प्रमाणपत्र तथा कागजात उपलब्ध हुन नसक्ने भन्दै म्याद थप गर्न मसय मागेपनि आफूहरुले नपाएको उनीहरुको उजुरीमा उल्लेख छ । अमेरिका, फ्रान्स, अमेरिका जस्ता मुलुकमा क्रिमशका कारण विदा भएकाले समयमा कागजात ल्याउन नपाएको तर सोही प्राविधिक विषयलाई लिएर मन्त्रीब स्नेतले एकलौटी निर्णय गरेको पाइएको छ ।
नोकिया फ्रान्स, एयरस्पान नेटवर्क आइएनसी अमेरिका, माभिनिर सिस्टम यूके, सामसुङ कोरिया, टेक महिन्द्रा भारत र डाटाकम हङकङले प्रतिस्पर्धामा भाग लिन नपाएको सार्वजनिक खरिद अनुगमन कार्यालयमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । टेन्डरको सीमा चार हप्ता अर्थात एक महिना थप गरी पाँउ भनी समय अगावै दिइएको निवेदनको कुनै सुनुवाई नभएको र स्वच्छ प्रतिस्पर्धा गर्न नपाएको उनीहरुको दावी छ ।
प्रशिद्ध विदेशी कम्पनीहरुलाई स्वस्थ्य प्रतिस्पर्धा गर्ने वातावरण नै नदिएको भन्दै उजुरीमा सूचना तथा सञ्चार मन्त्रालय र दूर सञ्चार कम्पनीले के गर्न खोजेको हो उजरीमा प्रश्न गरिएको छ ।
चिनियाँ  कम्पनीको मात्र प्रस्ताव (टेण्डर) मा सहभागिता हुने देखिएकोले स्वस्थ्य प्रतिस्पर्धाको अभावमा फोरजीको उपकरण भित्र्याउन खोजिएको भन्दै उनीहरुले प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने माग गरेका छन् ।
सहभागी हुन चाहने कम्पनीहरुलाई उपेक्षा गरी अन्याय गर्न खोजिएको र स्वस्थ्य प्रतिस्पर्धा समेत हुन नदिइएको भन्दै उनीहरुले सञ्चार मन्त्रालयले र टेलिकमले गरेको बदमासीको छानबिनको माग समेत गरेका छन् ।
नोकिया फ्रान्सका तर्फबाट भूपेन्द्र झा,  एयरस्पान नेटवर्क आइएनसी अमेरिकाका तर्फबाट पवनकुमार तिमिल्सिना, , माभिनिर सिस्टम यूकेका तर्फबाट नीरज भट्नागर, सामसुङ कोरियाका तर्फबाट राजेन्द्र श्रेष्ठ, टेक महिन्द्रा भारतका तर्फबाट अरुण श्रेष्ठ र डाटाकम हङकङका तर्फबाट अर्जुन गुरुङले सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दर्ता गराएका छन् । 

याे प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी  परेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया