काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभएको छ । क्यानेडियन प्रतिनीधीमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएका सांसद ब्रेड ट्रोस्टसंग बुधवार भएको भेटमा उहाले यस्तो धारणा राख्नुभएको हो ।
भेटमा मन्त्री पुनले देशभित्रै १० बर्षमा १० हजार मेगावट विजुली आवश्यक रहेको भन्दै त्यसका लागी सरकार क्षेत्रीय बजारको निर्माणमा लागिरहेको बताउनुभयो । उहाले नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागी क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रह समेत गर्नुभयो ।
‘उर्जा मन्त्रालयले ५ बर्षमा पांच हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने निकै महत्वकांक्षी लक्ष्य राखेको छ, त्यसका लागी काम समेत तिव्र रुपमा अघि बढिरहेको छ,हामीले यो लक्ष्य पुरा गर्न वैदेशिक लगानीको समेत आवश्यकता छ ।’ मन्त्री पुनले भेटमा भन्नुभयो ।
उहाले आगामी बर्षमा ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि उर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारी समेत दिनुभएको थियो ।
मन्त्री पुनले भारतसंग यसअघि नै उर्जा सहकार्यमा हस्ताक्षर भइसकेको र यही बर्षमात्र चीन र वङगलादेशसंग पनि उक्त समझदारीमा हस्ताक्षर भएको बताउनुभयो । उहाले बङगलादेशले नेपालबाट ५ सय मेगावाट र भारतले १५ सय मेगावाट विजुली नेपालबाट किन्ने जानकारी समेत भेटमा दिनुभएको थियो ।
भेटमा मन्त्री पुनले नेपाल र क्यानडाबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध मजवुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावास खोल्न समेत भेटमा आग्रह गर्नुभएको थियो । उहाले नेपालको प्रजातन्त्रीक प्रक्रिया र शान्ती प्रक्रियामा क्यानडाले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा समेत नेपालको विकासमा क्यानडाले निरन्तर सहयोग पुर्याउने व्यक्त गर्नुभयो ।
उहाले दुई देशको बीचमा केही समयअघी दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा निर्माण भएको द्धिपक्षीय परामर्श संयन्त्रले आगामी दिनमा दुवै देशबीच सम्बन्ध र सहकार्य अझ प्रगाढ हुने धारणा राख्नुभयो ।
भेटमा सांसद ट्रोस्टले नेपालको जलविद्यूत क्षेत्रमा लगानीका सम्भावनाहरुबारे मन्त्री पुनसंग छलफल गर्नुभएको थियो । निजी क्षेत्रका प्रतिनिधीमण्डललाई लिएर आउनुभएका सांसद ट्रोस्टले जलासययुक्त आयोजना निर्माणबारे समेत चासो राख्नुभएको थियो ।
प्रतिक्रिया