कसरी ल्याइन्छ गोरखाबाट  फूलपाती ?

५ बर्ष अगाडि

काठमाडौँ– हनुमानढोका दरवारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङ्को छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । 
गोरखाबाट ल्याएको फूलपाती लिएर उनीहरू काठमाडौं आउने छन् । काठमाडौँ गोरखा यातायात सुगम भइसके पनि अझै परम्परागत तौरतरिकाले फूलापाती ल्याइन्छ । 
सोमवार छत्रे देउरालीमा रात बस्ने गरेर जाने टोलीमा मगर, नेवार, बाहुन र क्षेत्री समुदायलाई समेटिएको छ । हनुमानढोका दरवारबाट १६ जना र समरजङ् कम्पनीबाट दुइजना खटाइएको कम्पनी प्रमुख प्रकाशचन्द्र पन्तले बताए ।  गाेरखापत्रमा खबर छ ।
फूलपातीमा केराको पात, उखुको बोट, अदुवाको बोट, बेलपत्र, धानको वाला, करीको फूल र मौसमि फूलका थुँगाहरू हुन्छन् । 

विगतमा पनि छत्रे देउरालीबाट फुलपाती ल्याएका शम्शेर गुरुङ्का अनुसार भिमढुंगामा यातायातबाट ओलिएर छत्रे देउरालीतर्फ पैदलै पुग्नुपर्छ, एकरात बास बसेर भोलिपल्ट महादेव खोलामा नुहाइधुवाइ शुद्ध भई चोखो कपडा लगाइन्छ ।
गोरखा दरवारबाट पाँच जना मगर समुदायका व्यक्तिले बोकी ल्याएको फूलपातीमा एउटा निख्खर कालो बोका र एउटा भेडाको थुमा बली दिएर अर्चना हुन्छ । काठमाडौँबाट छत्रे देउराली पुगेको हनुमानढोका र समरजङ्को टोलीलाई फूलपाती लिइ आएका गोरखाका मगरले टीका प्रसाद लगाइदिएपछि यहाँबाट गएको टोलीको साथ लगाइ छत्रे देउराली भिमढुंगा सीतापाइला हुँदै फूलपातीलाई जमलमा ल्याइन्छ ।
हनुमानढोका दरवारका पर्वपूजा संयोजक मिठाराम पुडासैनीका अनुसार जमलमा हनुमानढोका दरवारको दशैँघरका पुजारीले पूजा अर्चनासहित फूलपातीलाई जमलमा पर्सने कार्य गर्छन् । 
फूलपाती पर्सिएपछि १६ जना महिलाको साथमा मालश्री रागसहित फूलपातीलाई हनुमानढोका दरवारस्थित नासलचोकमा ल्याइन्छ । मालश्री राग गाउनेहरू शौभाग्यको प्रतिक रातो पहिरन र रातै शृङ्गारमा झकिझकाउ हुन्छन् । रागिनीका सामुन्ने नासलचोकमा फूलपातीसँगै ल्याइएको कलशमाथि राखिएकी देवीको तस्विरमा अर्चना हुन्छ ।
संयोजक पुडासैनका अनुसार फूलपातीको दायाँबायाँ लागेर जमलदेखि नासलचोकमा आएको आशागुर्जा (पूजा सामग्रीको गुन्टा)को साथमा फूलपातीलाई दशैँघरका पुजारीले अर्चनासहित दशैँघरमा भित्र्याउँछन् ।
दशैँघरमा फूलपाती भित्र्याउने साइतमा नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाइँ गर्ने चलन छ भने राष्ट्र प्रमुखबाट बढाइँ अवलोकन गर्ने परम्परा छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया