जेफ बेजोस विश्वकै धनी बने , बिनोद चौधरीको यस्तो छ स्थान

६ बर्ष अगाडि

काठमाडौँ, २४ फागुन- अर्बपतिहरूको सूची सार्वजनिक गर्ने पत्रिका फोब्सले यस वर्षका अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । सो सूचीको पहिलो स्थानमा एमाजोनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोस रहेका छन् । बेजोसको सम्पत्तिमा उल्लेख्य रूपमा वृद्धि भएर ११२ बिलियन डलर पुगेको छ ।

उनको सम्पत्ति सन् २०१७ को भन्दा ३९ बिलियनले वृद्धि भएको हो । यो कुनै पनि अर्बपतिको सम्पत्तिमा एक वर्षमा भएको ठूलो वृद्धि हो । उनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै अर्बपतिको सूचीको पहिलो स्थानमा आएका हुन् । गेट्स दोस्रो नम्बरमा रहेका छन् । उनको सम्पत्ति गत वर्षको भन्दा ४ बिलियनले वृद्धि भई ९० बिलियन डलर पुगेको छ ।

गत वर्ष पहिलो नम्बरमा रहेका उनको ८६ बिलियन डलर सम्पत्ति थियो । यस्तै सूचीको तेस्रो स्थानमा वारेन बफेट रहेका छन् । उनीसँग ८६ बिलियन डलर सम्पत्ति रहेको छ भने चौथो स्थानमा ७२ बिलियन सम्पत्तिसहित बर्नार्ड अर्नाल्ड रहेका छन् । फेसबुकका संस्थापक मार्क जुकरबर्ग ७१ बिलियन डलर सम्पत्तिसहित अर्बपतिको पाँचौं स्थानमा रहेका छन् । सबै अर्बपतिहरूको सम्पत्ति ९.१ ट्रिलियन डलर रहेको फोब्सले उल्लेख गरेको छ ।फोब्सले यो वर्ष सार्वजनिक गरेका अर्बपतिको सूचीमा २ हजार २०८ जना अर्बपति रहेका छन् । जसमध्ये २५६ जना महिला रहेका छन् । महिलातर्फ अमेरिकाकी एलिस वाल्टन सूचीको पहिलो स्थानमा रहेकी छन् । समग्र सूचीको १६औं स्थानमा रहेकी उनीसँग ४६ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ । गत वर्ष फोब्सको अर्बपतिको सूचीमा २ हजार ४३ जना सामेल थिए । अर्बपतिको सूचीमा यस वर्ष २५९ जना नयाँ थपिएका छन् भने केही अर्बपतिहरू सम्पत्ति घटेर सूचीबाट हटेका छन् ।
गत वर्ष अर्बपतिको सूचीको ५४४औं नम्बरमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्ष २ सय स्थानभन्दा तल झरेर ७६६औं स्थानमा पुगेका छन् । उनीसँगै ७६६औं स्थानमा अन्य २० जना अर्बपति रहेका छन् । उनको गत वर्षको ३.५ बिलियन सम्पत्ति यसपटक घटेर ३.१ बिलियन अमेरिकी डलरबराबर पुगेको फोब्सले जनाएको छ । यस वर्ष अर्बपतिको सूचीमा नेपालबाट बिनोद चौधरी परेका छन् । उनी सूचीको १ हजार ५६१औं स्थानमा छन् । भारतका भने आठ जना अर्बपतिको सूचीमा अटाउँदा गत वर्ष १.७ बिलियन डलरसहित यो सूचीमा रहेका निरभ मोदी यस वर्ष सूचीबाट हटेका छन् । भारतीय अर्बपति मुकेश अम्बानी १९औं नम्बरमा रहेका छन् । यसअघि शीर्ष १० भित्र परेका उनी एकैपटक १९औं स्थानमा पुगेका हुन् ।

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी विश्वका धनी व्यक्तिको १५६१औं सूचीमा परेका छन् । अघिल्लोपटक उनी १५६३औं सूचीमा रहेका थिए । उनको सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब रुपैयाँले बढेको फोब्सले सार्वजनिक गरेको २०१८ को सूचीमा उल्लेख छ ।

सो सूचीअनुसार हाल चौधरीसँग १ अर्ब ५० करोड अमेरिकी डलर सम्पत्ति छ । नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो रकम १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी हुन्छ । फोब्सको सन् २०१७ को सूचीअनुसार चौधरीसँग १ अर्ब ३१ करोड अमेरिकी डलरबराबरको सम्पत्ति थियो, राजधानी दैनिकमा खबर छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया