धमाधम १६ सय मेगावाट क्षमताका आयोजनाको डिपिआर बनाउँदै एनइए इन्जिनियरिङ कम्पनी

५ बर्ष अगाडि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले १ हजार ६७८.५ मेगावाट क्षमताका ५ जलविद्युत् आयोजनाको विस्ततृ आयोजना प्रतिवेदन(डिपिआर)को कामलाई अगाडि बढाएको छ ।

अध्ययनमा रहेका अधिकाशं आयोजनाको डिपिआर १८ महिना भित्र सकिने छन् भने एक आयोजनाको २० महिना र अर्को एक आयोजनाको १२ महिनामा अध्ययनको काम सकिनेछ ।

परामर्शदाता र विस्तृत अध्ययनको नाममा मोटो रकम विदेश जाने गरेको र विदेशी कम्पनलिे गरेको अध्ययन नेपालको लागि उपयुक्त हुने वा नहुने भन्ने दुविधा समेत रहने गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले एनइए इन्जिनियरिङ कम्पनी स्थापना गरेको हो ।

विदेशी परामर्शदाताले नेपालमा काम गरेकै भरमा मोटो रकम विदेश लैजाने गरेका कारण पनि प्राधिकरणले आफ्नै क्षमतालाई विश्वास गदैृ कम्पनी स्थापना गरेको हो ।

कम्पनीले ४२६ मेगावाट क्षमताको फूकोट कर्णाली जलविद्युत् आयोजनाको डिपिआरको काम गरिरहेको छ । सो आयोजनाबाछ २ हजार ५१० गिगावाट आवर इनर्जी उत्पादन हुन्छ । १८ महिना भित्र डिपिआरको काम सक्ने गरी काम भइरहेको छ ।

यस्तै किमाथांका अरुणको पनि डिपिआरको काम भइरहेको छ । सो आयोजना नेपाल चीन सीमा नजिकै निर्माण हुने आयोजना हो । संखुवासभामा निर्माण हुने आयोजनाको डिपिआरको काम समेत १८ महिनामा सकिनेछ । सो आयोजनाबाछ २ हजार ९२५ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

यसैगरी कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको लगानीमा निर्माण गर्न लागेको बेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् आयोजनाको काम समेत सोही कम्पनीले गरिरहेको छ । सो आयोजनाको डिपिआर १८ महिनामा सकिनेछ । कूल ६८८ मेगावाट क्षमताको सो आयोजनाबाछ ४ हजार ३७७.८७ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

आयोजना निर्माणका लागि सञ्चय कोषले हालसम्म ३ खर्ब रुपैयाँ जम्मा गरिसकेको छ ।

त्यस्तै एनइए इन्जिनियरिङ कम्पनीले डिपिआरको काम गरिरहेको अर्को आयोजना हो जगदुल्ला । डोल्पामा आयोजना स्थल रहेको सो आयोजनाको कूल क्षमता ९२.५ मेगावाट रहेको छ । ५४५.२ गिगावाट आवर ऊर्जा उत्पादन हुने सो आयोजनाको डिपिआरको काम आगामी २० महिना भित्र सकिनेछ ।

त्यस्तै निर्माण सम्पन्न हुने क्रममा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ठिक माथिल्तिर निर्माण हुने रोल्वालिङ जलविद्युत् आयोजनाको समेत डिपिआरको काम सोही कम्पनीले गरिरहेको छ । सो आयोजनाको क्षमता २२ मेगावाट रहेको छ । आगामी १ वर्षमा डिपिआर सकेर निर्माणमा लैजाने गरी आवश्यक तयारी गरिएको छ । सो आयोजनाबाट ११८ गिगावाट आवर ऊर्जा प्राप्त हुनेछ ।

विदेशी परामर्शदाता कम्पनीले नेपालीलाई नै काम लगाउने र स्वामित्व भने उनीहरुले लिने गरेको अवस्थामा सरकारको सोच अनुसार नै कम्पनी स्थापना गरिएको थियो ।

कम्पनीले ती आयोजनाको डिपिआरको काम सकेपछि अन्य केही आयोजनाको समेत डिपिआरको काम अगाडि बढाउने बताएको छ ।

कम्पनीको अध्यक्षमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रहेका छन् भने विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्त, राष्ट्रिय प्रसारण तथा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवाली, जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिृकृत छविराज पोखरेल सञ्चालकका रुपमा छन् । यस्तै स्वतन्त्र सञ्चालकमा हरिप्रसाद पण्डित सदस्य छन् भने प्रबन्ध सञ्चालकमा हितेन्द्र देव शाक्य छन् । यस्तै प्राधिकरणका तर्फबाट मोहनरत्न शाक्य समेत सदस्य छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया