मेघौली विमानस्थल सञ्चालनमा आउनै सकेन

५ बर्ष अगाडि

चितवन– पश्चिम चितवनको मेघौली विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विसं २०१७ मा स्थापना गरिएको सो विमानस्थल त्यस क्षेत्रको प्रतिष्ठित होटल टाईगर टप्स बन्द भएसँगै नियमित सञ्चालन हुन नसकेको हो । 

सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको सो विमानस्थल २३ बिगाहा जमीनमा फैलिएको छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार एक हजार ६५ मिटर लामो घाँसे धावन मार्ग रहेको छ । विमानस्थललाई तारबार गरी सुरक्षित गरिएको छ । सो क्षेत्रका सामाजिक अगुवा मायाराम चौधरीका अनुसार होटल टाईगर टप्स सञ्चालन हुँदा नेपालका राजारानी, बेलायती रानी एलिजाबेथलगायत स्वदेशी र विदेशी विशिष्ट व्यक्ति जहाज चढेर सो क्षेत्रमा आएका थिए । थारु सांस्कृतिक सङ्ग्रहालय मेघौलीका अध्यक्ष रहनुभएका चौधरीले दैनिक तीन÷चार जहाज सो विमानस्थलमा अवतरण हुने गरेको थियो । 

सोही विमानस्थलमा होटल टाईगर टप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्ती पोलो खेल समेत हुने गरेको थियो । हाल खेल पनि बन्द भएको छ । विसं २०६९ बाट बन्द भएको विमानस्थल गत वर्ष नोभेम्बर र डिसेम्बरमा केही समय सञ्चालनमा आए पनि पुनः बन्द भएको हो । 

जहाज सञ्चालन भएमा तत्काल टावर सञ्चालनमा ल्याउन सकिने विमानस्थलका प्रमुख गौतमले बताउनुभयो । भरतपुरमा दैनिक १२÷१३ उडान हुँदै आएको भन्दै उहाँले मेघौली विमानस्थल सञ्चालन गर्न सकेमा भरतपुरको चाप घटाउन सकिने र त्यस क्षेत्रका जनताले सुविधा पाउने बताउनुभयो । नेपाल एयरलायन्सले हाल तालिकामा राखेर पनि मेघौलीमा विमान चलाएको छैन । विमान सञ्चालन हुन नसक्नुको कारणबारे केन्द्रमा पत्राचार गर्ने उहाँले बताउनुभयो । 

पश्चिम चितवनमा तीन ठूलासहित १० भन्दा बढी पर्यटकीय होटल रहेका छन् । नियमित उडान नहुँदा पर्यटक आगमनमा समेत प्रभाव परेको छ । पश्चिम चितवन होटल व्यवसायी सङ्घका अध्यक्ष सुवोध प्रधानले नियमित उडानका लागि पहल भइरहेको भए पनि उडान हुन नसकेको बताउनुभयो । सो ठाउँमा हेलिकप्टर र समय समयमा विमान चार्टर गरेर उडान गरिँदै आएको छ । 

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले सो विमानस्थल पुरानो भएकाले पश्चिम चितवनको पर्यटकीय विकास र त्यस क्षेत्रका जनतालाई सुविधा दिन नियमित उडान गर्नुपर्ने बताउनुभयो । जिल्लामा हाल सञ्चालनमा रहेको भरतपुर विमानस्थलबाट दैनिक काठमाडौँं र पोखरा उडान हुँदै आएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया