गौशाला नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव

५ बर्ष अगाडि

महोत्तरी – गौशाला नगरपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि उपचारका लागि गएकाहरू रित्तै फर्किन थालेका छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रहरूमा सरकारद्वारा निःशुल्क रुपमा उपलब्ध गराइने औषधिहरु नहुँदा उपचार गराउन जाने बिरामीहरू मार्कामा परेका हुन् । 

यहाँका स्वास्थ्य केन्द्रमा औषधि नभएपछि उपचारका लागि आउने बिरामीबाट गाली खानुपरेको निगौल स्वास्थ्य चौकीका इञ्चार्ज अर्जुनबहादुर बोहराको गुनासो थियो । उनन्चालिस किसिमका औषधि एक हप्तादेखि अभाव भएकाले सम्बन्धित निकायमा जानकारी गराइसकेको उहाँले बताउनुभयो । दैनिक २० जनाको हराहारीमा उपचारका लागि आउने बिरामीलाई अहिले निजी क्लिनिकमा गएर उपचार गराउनुपर्ने बाध्यता रहेको इञ्चार्ज बोहराले बताउनुभयो । स्वास्थ्य चौकीमा शौचालय र खोनपानीकै सुविधा नहुँदा सेवाग्राहीलाई झनै अपठेरो पनि हुँदै आएको छ । 

त्यस्तै नगरपालिकाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्थाका रुपमा परिचित रहेको गौशाला प्राथमिक स्वास्थ्य चौकीमा पनि सिटामोल अभाव छ । चिकित्सक मनोज साहका अनुसार निःशुल्क रुपमा ५८ प्रकारका औषधि उपलब्ध गराउने स्वास्थ्य संस्थामा सिटामोलसमेत नपाएपछि बिरामी आक्रोशित हुँदै आएका र बीमा गराएकाहरु समेत खाली हात फर्किनुपरेको छ । स्वास्थ्य चौकीमा एक्स–रेको अभाव भएको र एम्बुलेन्ससमेत पुरानो भएकाले नगरप्रमुखलाई समेत जानकारी गराइसक्दा पनि कतैबाट सुनवाई हुन नसकेको उहाँको भनाइ थियो । वडा नं १ मा रहेको रामनगर स्वास्थ्य चौकीमा पनि औषधि अभाब भएको जनाइएको छ । 

जनस्वास्थ्य सहसंयोजक अशोककुमार महतोले यहाँका छ स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्यचौकीमा औषधि अभाब भएको नगरपालिकामा जानकारी गराइसकेको बताउनुभयो । एक महीनाअगाडि नै १५ लाख बराबरको बजेट औषधि खरीदका लागि बजेट उपलब्ध गराइए पनि प्राविधिक कारणले ठेक्का प्रक्रिया अगाडि बढाउन नसकिएको उहाँले जानकारी दिनुभयो ।यहाँको स्वास्थ्य स्थितिबारे प्रदेशसभासदस्य भरत साह, प्रतिनिधिसभासदस्य दिलकुमारी साह, नगरप्रमुख शिवनाथ महतोलाई समेत आफूले बारम्बार अवगत गराइसकेको तर कुनै किसिमको सुनवाइ हुन नसकेको सहसंयोजक महतोले बताउनुभयो । बाह्र वटा वडा रहेको उक्त नगरपालिकामा छ स्वास्थ्य चौकी र एक प्राथामिक स्वास्थ्य केन्द्र छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया