वीर अस्पतालमा चरम आर्थिक अनियमितता, यसरी गरियो प्रक्रिया नपुर्याइ ६ करोड ६६ लाखको उपकरण खरिद

५ बर्ष अगाडि

 
काठमाडौँ ।  गरिब जनताको उपचार गर्ने थलोको रुपमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा करोडौं मूल्य पर्ने सामान खरिदमा अनियमितता भएको पाइएको छ ।

प्रतिष्ठानले बोलपत्र नै नगरी टेम्पोग्राफी मेशिन ६ करोड ६६ लाख ६६ हजार ४३० रुपैयाँमा मा खरीद गरेको र सोको वार्षिक मर्मत खर्च  २३ लाख ५० हजार रुपैयाँ  गरेको पाइएको छ ।

कुनै पनि विधि र प्रक्रिया नपुर्याइकन प्रतिष्ठानमा सामान खरिद गरिएको र अख्तियारको चरम दुरुपयोग गरेको पाइएको हो ।

यस्तै कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएपनि उनीहरुमाथि कुनै पनि प्रकारको कारवाही भने हुन सकेको छैन ।

राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अध्ययनका क्रममा सो तथ्य फेला परेको हो । सर्तकर्ताले  तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पठाइएको छ ।

अस्पतालमा केन्द्रका उपसचिव यामप्रसाद भुसालको संयोजकत्वमा गत चैतदेखि असारसम्म छानबिन गरेको थियो ।

अस्पतालले सार्वजनिक खरीद ऐन २०६३ र  नियमावली २०६४ विपरीत सिटीस्क्यान मेशिन खरीद गरेको पाइएको छ । उक्त मेशिन खरीदमा लागत अनुमान तयार गर्दा तीन फर्मसँग दर माग गरिए पनि ती कम्पनीको आधिकारिकतासमेत नपाइएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै बाइम्ड इण्टरनेशनल र मेडिकल सोलुशनबाट खरीद गर्दा दर पेश गरेको पत्रमा दर पेश गर्ने आधिकारिक निकायको हस्ताक्षर नभएको पाइएको उल्लेख गरिएको छ ।

न्यून रकम कबोल गर्ने भन्दा बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरिएको छ ।

अस्पतालले आव २०७३÷०७४ मा खरीद गरिएका महत्वपूर्ण उपकरण खरीदका लागि लागत अनुमान तयार गर्दा उच्च मूल्य राखेको पाइएको उल्लेख गरिएको छ ।

खरीद गुरुयोजना नबनाउने र वार्षिक खरीद योजनानुरुप समयमा खरीद प्रक्रिया अगाडि नबढाउँदा आवको अन्त्यतिर बजेट फ्रिज हुने भन्दै हतार हतारमा खरीद गर्ने गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । अस्पताल सञ्चालनका लागि नियमित रूपमा आवश्यक पर्ने ‌औषधि र सरसफाइलगायत अन्य सामग्री सोझै खरीद गरिएको छ ।

प्रतिवेदनमा प्रतिष्ठानका जिम्मेवार पदाधिकारीले वीर अस्पतालमा ९४ र ट्रमा सेन्टरमा १०० जना स्वीकृतीविना दरबन्दी नियुक्त गरिएको पाइएको छ । पदपूर्तिका लागि सेवा आयोगले गर्ने कानूनी व्यवस्था भए पनि २०७२ असोजदेखि आयोगबाट पदपूर्ति गरेको छैन ।

कर्मचारीको नियुक्त गर्ने पदाधिकारीबाट उनीहरूले खाएको तलबभत्ता र अन्य सुविधावापतको रकम असूल गर्न भनिएको छ । यन्त्र उपकरण खरीद गर्नका लागि खरीद एकाइ गठन गरे पनि एकाइमा विशेषज्ञ प्राविधिकभन्दा अहेब, नर्सिङ र प्रशासनतर्फका कर्मचारी बढी रहेका छन् ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया