लगानीकर्तालाई भ्रममा नपर्न बोर्डको आग्रह

५ बर्ष अगाडि

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । 

बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको छ । 

बोर्डले आज जारी गरेको विज्ञप्तिमा बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित सुझबुझपूर्ण तवरले शेयर बजारमा लगानी गर्न सुझाव दिएको हो । 

चालू आर्थिक वर्षको बजेटमार्फत मूल्य अभिवृद्धि कर(भ्याट)को समस्या समाधान भएको, रु ५० करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीलाई आयकरमा १० प्रतिशत छुट दिइएको र पूँजीबजारमा सूचीकृत हुन प्रोत्साहित गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी रु एक अर्ब वा सोभन्दा बढीको लगानीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण भई पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको बोर्डले जनाएको छ । 

यस्तै धितोपत्र व्यवसायी शुल्कमा कटौती गरिएको, वैकल्पिक लगानी कोष नियमावली लागू भएको, निजी इक्विटी, भेन्चर फण्ड र हेज फण्ड प्रवेश गराई कम्पनीलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गरेको जनाएको छ । 

नेपाली पूँजीबजार व्यवस्थित हुँदै गएको भन्दै बोर्डले यस्तो अवस्थामा बजार हल्लाको पछि लागेर हतारमा शेयर किन्ने र बेच्ने काम नगर्न अनुरोध गरेको छ । 

सङ्गठित संस्थाले लाभांशको मौसममा अनावश्यक बजार हल्ला चलाउने र बजारमा अस्वाभाविक उतारचढाव ल्याउने प्रयास रोक्न प्रयास गरिएको पनि बोर्डले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया