कति मर्नुपर्छ काठमाडौँको खाल्डा पुरिन, कार्यकारीको निर्देशन नमान्ने कर्मचारीलाई कहिले हुन्छ कारवाही

५ बर्ष अगाडि

काठमाडौं । दशै अगाडिसम्म सरकारका उच्च अधिकारी र स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीले बर्षाका कारण राजधानीको सडकको खाल्डा खुल्डी पुर्न नसकिएको बताउथे । बर्षालाई दोष देखाएर उम्किन पनि मेसो मिलेको थियो । नेपालीले दशै पनि मनाए । तर राजधानीका सडकको खाल्डा खुल्डी र धुवा एवम् धूलोको अवस्था उस्तै रहेको छ ।

एक अध्ययनअनुसार नेपालमा धुवा तथा धुलोका कारण वार्षिक २१ हजार नागरिकले अकालमा ज्यान गुमाएका छन् भने रु ३ खर्ब बराबरको आर्थिक नोक्सानी समेत हुने गरेको छ । तर सरकारी निकाय सडकका खाल्डा खुल्डी पुर्न र सडक कालोपत्रे गर्ने तर्फ कुनै पनि प्रयास नगरी पूर्ववत् अवस्थामा चुपचाप बसीरहेको छ ।

काठमाडौँ महानगरपालिकाले पनि दशै अगाडिसम्म बर्षालाई नै दोष देखाएर चुपचाप सडकको खाल्डा खुल्ड नपुरीकन राखेको थियो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको कार्यशैलीलाई त आम मानिसले मन पराएका छैनन् । उनले करिब २ वर्षको बीचमा के गरे भनेर देखाउने कुनै पनि एउटा काम गरेका छैनन् । राजधानीका केही मुख्य सडक बाहेक अधिकाशं सडकको अवस्था दुरुहपूर्ण छ । तर मर्मत सम्भार गर्ने निकाय थाहा नपाएको जस्तो गरेर बसेको छ ।

सडक मर्मत सम्भारको जिम्मा लिएको सडक विभाग के गर्दैछ कोही कसैलाई थाहा छैन । विभागका एक अधिकारीले भने बजेट अभावमा सडक मर्मतको काम गर्न नसकिएको बताउँछन् । सडक मर्मतका लागि मात्रै उनकाअनुसार करिब २१ अर्ब बराबरको बजेट आवश्यक पर्दछ । सरकारले चालु आवको बजेटमा सडक मर्मतका लागि भने सडक विभागलाई रु २ अर्ब मात्रै बजेट उपलब्ध गराएको छ ।
राजधानीको अधिकाशं सडक भत्किएर खाल्डा खुल्डीमा रुपान्तरित भएका छन् । यात्रा कष्टकर मात्रै छैन, जोखिम पनि उत्तिकै रहेको छ । सडक दुर्घटनाको मात्रा समेत बढेको छ । तर सम्बोधन गर्नुपर्नेै निकाय चुपचाप बस्दा नागरिकले दैनिक हैरानी खेप्नु परेको छ । प्रधानमन्त्री केपी ओलीले ६ महिना भित्र काठमाडौँका सडकमा खाल्डा खुल्डी नरहने बताएका थिए । उनको घोषणा कहाँ पुग्यो भन्ने बारेमा सोध खोज गर्ने नागरिक समाज समेत निदाएको छ ।

प्रधानमन्त्रीले पटक पटक निर्देशन दिदा समेत अटेर गरेर बस्ने सरकारी निकायका जिम्मेवार पदाधिकारीलाई कारवाही गर्ने तर्फ पनि सरकार क्रियाशिल हुन सकेको छैन । विभिन्न बाहानामा नागरिकलाई दुःख दिने प्रवृत्ति रोक्ने जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय समेत के गरिरहेको छ , आम मानिसले थाहा पाउन सकेका छैनन् ।

सो मन्त्रालयको जिम्मेवारी सम्हालेका रघुवीर महासेठले सडक मर्मतमा कुनै चासो देखाएका छैनन । कम से कम राजधानीका सडक मात्रै खाल्डा खुल्डी रहित र धुवा धूलो रहित हुन सक्यो भने मात्रै पनि देशमा सरकार छ भन्ने कुराको अनुभूति हुन सक्थ्यो, त्यत्तिसम्म काम पनि सरकारी निकायले गरेको छैन ।

सरकारका अधिकाशं निकाय निर्देशन दिने काममा मात्रै व्यस्त रहेको छ । सबै जर्नेल जस्ता तर कोही पनि काम गर्न नचाहने प्रवृत्ति सतहमा देखिएको छ । तर सरकारका आधिकारिक निकाय नै यस बारेमा बोल्न तयार छैनन् । सडक मर्मत गर भनेर वर्तमान प्रधानमन्त्रीले ३ पटक भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका पदाधिकारी र सडक विभागका अधिकारीलाई निर्देशन दिए । उनको निर्देशन कार्यान्वयन गर्ने निकायमा नपुग्दै पुनः हराएको छ । नागरिकले दैनिक उस्तै हैरानी र परेसानी व्योहोरिरहेका छन् । दुर्घटनामा परेर ज्यान गुमाएका छन् । तर सरकारले किन सडक मर्मत गराउन ध्यान दिएको छैन, यो प्रश्न भने गम्भीर रहेको छ ।

ठेकेदारकै कारण कलंकी नागढुंगा, बौद्ध जोरपाटी सडकको हालत पनि उस्तै रहेको छ । सो सडक कहिलेसम्म कालोपत्रे हुने हो भने कुनै ठेगान छैन । बौद्ध जोरपाटी सडक खण्डमा एक इन्जिनियर विश्वविजयलाल श्रेष्ठकाअनुसार यही अवस्था रहीरहे सो सडक मर्मत सम्भार सकिन अझै २ वर्ष लाग्न सक्छ । नागरिकले राज्यलाई कर तिरेका छन् । आफ्नो छाक कटाएर भएपनि राज्यका पदाधिकारीलाई पालेका छन्, तर सेवा सुविधा भने केही पनि पाएका छैनन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया