नेपालमै पहिलो पटक बन्यो थानकोट मातातीर्थमा भूमिगत प्रसारण लाइन

५ बर्ष अगाडि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका लागि भालुको कम्पट जस्तै अप्ठ्यारो बनेको काठमाडौंको थानकोटको भूमिगत प्रसारण प्रणालीको काम अन्तिम चरणमा पुगेको छ ।

स्थानीयको चर्को विरोध, तथा घर तथा आवासका कारण घरमाथिबाट तार तान्न तथा खम्ब खाडन समेत असाध्यै अप्ठ्यारो परेको उक्त भूमिगत प्रसारण प्रणालीको भोतिक संरचनाको काम सकिएको छ ।

सो भूमिगत संरचनाको काम सकिएपछि प्राधिकरणले भनेको छ भालूको कम्पट जस्तो काममा सफलता मिलेको छ ।

त्रिशूली–काठमाडौं २२० केभी क्षमताको भूमिगत प्रसारण लाइनको सिभिल संरचनाको काम पूरा भएको प्राधिकरणले जनाएको छ । कूल १ हजार ३०९ मिटर लामो भूमिगत डबल सर्किट लाइनको संरचना तयार भएपछि प्राधिकरणका उच्च अधिकारी र आयोजना प्रमुखले समेत खुसी व्यक्त गरेका छन् ।

मातातीर्थ सवस्टेशनमा विद्युत् जोडनका लागि उक्त भूमिगत प्रसारण प्रणाली निर्माण गरिएको हो ।

अब भौतिक संरचना भित्र तार जडान गर्ने कार्य भने बाँकी रहेको छ । प्राधिकरणकाअनुसार भूमिगत संरचना भित्र ठूला क्षमताका २४ वटा तार राख्नुपर्नेछ ।

भूमिगतरुपमा तार राख्न मिल्ने गरी प्रसारण लाइनको संरचना निर्माण गरिएको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजना प्रमुख फणिन्द्रराज जोशीले आर्थिक न्यूजलाई बताए ।

उनले भोीतक निर्माणको काम सकिएकाले भूमिगत प्रसारण प्रणालीमा अब २२० केभी क्षमताका पावर केवल जडान हुनेछ । आगामी पुसदेखि उक्त भूमिगत संरचनामा पावर केवल जडान सुरु गरिने र त्यसका लागि एक साता मात्रै लाग्ने उनले बताए ।

पावर केवल जडान गरेर मात्रै नहुने भएकाले त्यसको विशिष्ठ प्रकारको परिक्षण समेत जरुरी पर्ने बताइन्छ । पावर केवल आयतकर्तालाई नै बोलाएर जडान तथा परिक्षणको काम समेत सँग सँगै गर्ने योजनामा प्राधिकरण रहेको छ ।

माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी, रसुवागढी, साञ्जेन तथा निजी क्षेत्रले नुवाकोट र रसुवामा निर्माण गरेका करिक ८०० मेगावाट भन्दा बढी क्षमताका विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडनका लागि निर्माण भइरहेको त्रिशुली काठमाडौं २२० केभी प्रसारण लाइनको काम समेत करिब ८० प्रतिशत सकिएको छ ।

आगामी माघ भित्र नै सो प्रसारण लाइनको काम सक्ने गरी आवश्इक तयारी गरिएको छ ।

लामो समयदेखि वन क्षेत्रको जग्गा प्रयोग तथा स्थानीयबासीसँग जग्गाको विषयमा कुरा नमिल्दा समस्या पर्दै आएको उक्त प्रसारण लाइनमा पछिल्लो समयमा भने सहमति भएको छ । स्थानीयबासीसँगको सहमतिपछि प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिएको आयोजना प्रमुख जोशीले जानकारी दिए ।

एकाध स्थानमा अझै पनि समस्या भएपनि समस्यासँग जुध्दै काम भइरहेकाले तोकिएको समयमा नै प्रसारण लाइन निर्माण सम्पन्न हुने उनको दावी छ ।

कूल ४५ किलोमिटर लामो त्रिशूली–काठमाडौं प्रसारण लाइनको १४० मध्ये १२० टावर खडा गरिएको छ । कूल ५ किलोमिटर लाइनको तार तान्ने काम पूरा भएको छ । उनका अनुसार १३५ टावरको फाउन्डेसन तयार भएको छ भने ४ वटा टावरको फाउन्डेनको काम  आगामी ७ दिनभित्र सम्पन्न हुनेछ । बाँकी रहेको एउटा टावर निर्माणका लागि स्थानीय जग्गा धनीलाई मुआब्जा वितरण गरेर काम अगाडि बढाइने भएको छ ।

चिनियाँ कम्पनी सिडब्ल्युइले प्रसारण लाइन निर्माणको ठेक्का पाएर काम गरिरहेको छ । आगामी फागुनको पहिलो सातासम्म माथिल्लो त्रिशूली ३ ए को पनि निर्माण सक्ने तयारी गरिएको छ । सो आयोजना र प्रसारण लाइनको कूल लागत रु १२ अर्ब १२ करोड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया