अर्बाैं रुपैयाँ लगानीमा ‘एड्भान्स फोरजी’को तयारीमा जुट्यो टेलिकम

६ बर्ष अगाडि

काठमाडौँ- दूरसञ्चार क्षेत्रको पछिल्लो प्रविधि फोरजी सेवा सुरु गरेको १४ महिनासम्म दुई सहरमा सीमित नेपाल टेलिकम अब भने यसलाई अझ रुपान्तरण गर्दै ‘एड्भान्स फोरजी’ सञ्चालनको तयारीमा जुटेको छ । नेपालमा हाल उपलब्ध फोरजीभन्दा निकै गुणस्तरीय सेवासहित आक्रामक बजारीरकण सुरु गर्ने टेलिकमको योजना छ । 
टेलिकमले कम्पनी र ग्राहक दुवैको रूपान्तरण हुने गरी एडभान्स फोरजी सेवा विस्तार गर्ने जनाएको छ । लामो समयको पर्खाइपछि देशभर एकैपटक विस्तार गर्ने लक्ष्यसहित एड्भान्स फोरजीमा टेलिकम जुटेको हो । अब टेलिकमले फोरजी सेवा विस्तार गर्दा जहाँ कुनै पनि सेवा पुगेको छैन, त्यस्तो ठाउँमा सिधैं एड्भान्स फोरजी सेवा विस्तार गर्नेछ । 
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अहिलेसम्म नेपालमा भएको फोरजीभन्दा नयाँ प्रविधि भएको र डाटा तथा भ्वाइसमा उच्च गुणस्तरको सेवा दिनसक्ने गरी फोरजी सेवा ल्याउन लागिएको जानकारी दिइन्, कारोबार दैनिकमा खबर छ  । 
 “भ्वाइस ओभर लङ टर्म इभोलुन ‘भीओएलटीई’मा हामीले जोड दिएका छौं, यो सेवा सहरमामात्रै होइन, गाउँमा कुनाकाप्चामा एकैपटक पुग्छौं, जहाँ अरु कुनै सेवा पुगेको छैन,” राजभण्डारीले भनिन्, “गुणस्तरका लागि हामीले कुनै कुरामा सम्झौता गर्ने छैनौं, बीटीएस टावरबाट कभरेज दिन नसकेको नयाँ प्रविधि अपनाएर भए पनि कुनै ठाउँ फोरजी पुग्नबाट बञ्चित हुनेछैन ।” हिजोका दिनमा कम्पनीमाथि गुणस्तरमा जति नै प्रश्न गरिए पनि अब दिने सेवामा सक्दो ग्राहकको माग र नयाँ प्रविधिलाई सम्बोधन गरेर अगाडि बढ्ने उनले बताइन् । टेलिकमले यो परियोजनाका लागि अर्बाैं रुपैयाँ लगानी गर्दैछ । 
क्वालिटी, कभरेज र नयाँ प्रविधिलाई सम्बोधन गरेर फोरजी सेवा आउँदैछ । देशभर एकैसाथ सेवा दिने त्यसमा पनि अति दुर्गमदेखि पिछडिएको वर्गसम्म फोरजी सेवा कम्पनीले पुर्याउनेछ । सरकारको कम्पनी भएकोले नाफा हुने क्षेत्रमामात्र नभएर गाउँगाउँ र दुर्गम क्षेत्रमा पुग्नु कम्पनीको दायित्व हो । “अहिले बजारमा टेलिकमको फोरजी आउनसाथ हामी छायाँमा पर्छौं कि भन्ने कसैलाई हुनसक्छ, तर हामी ग्राहकमाझ छु्ट्टै तरिकाले सेवा दिन र मन जित्न चाहान्छौं,” प्रबन्ध निर्देशक राजभण्डारीले भनिन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया