निर्मला पन्त हत्याकाण्ड अझैं रहस्यमय

५ बर्ष अगाडि

काठमाडौँ– कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको गहन अनुसन्धान हुँदैछ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 
अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । 
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) अनुसार, डिएनए प्रतिवेदन प्राप्त हुन केही दिन लाग्ने छ । ती दुई अभियुक्तले प्रहरीलाई दिएको वयानमा पनि विवाद देखिएको छ । सिआइवीका प्रमुख निरज शाहीले ती दुईजनाको सामान्य वयान भएको स्पष्ट पारे ।

निर्मला हत्या घटनाको विस्तृत अनुसन्धान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट नै भइरहेकाले थप अनुसन्धान उतैबाट भएको जानकारी उनले दिए ।  अभियुक्त द्वयले वयान फेर्ने र अरुलाई पोल्ने गरेपछि विवाद देखिएको हो । 
महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले नै विशाल र दिनेश चौधरीको नामसमेत पोलेका थिए, तर दिनेशको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको छ । सिआइवी प्रमुख शाहीले पक्राउ अभियुक्तहरूले निर्मला हत्या घटना सकारेको वा अस्वीकार गरेको विषयमा जानकारी दिन चाहेनन् । 
अभियुक्तको थप वयान लिने र डिएनए प्रतिवेदन हेर्ने अधिकार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई रहेको उनले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया