शक्तिशाली राष्ट्रहरु मानव अधिकारको बारेमा गम्भिर बन्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली

५ बर्ष अगाडि

काठमाडौं–परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिँसा, भोक र रोकलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो धारणा राखेका हुन । 

परराष्ट्रविद डा. शम्भुराम सिंखडाद्धारा लिखित पुस्तक ‘…Human Rights : Human Wrongs In the Scale of Human ConscienceÚ sf’ को विमोचन गर्दै मन्त्री ज्ञवालीले शक्तिशाली राष्ट्रहरुले विश्वमा जारी हिँसा अन्त्यमा प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिएका हुन । 

मन्त्री ज्ञवालीले विश्वका विकसित र शक्तिशाली राष्ट्रहरुले हतियारमा लगानी गर्ने रकमको १० प्रतिशतमात्रै विश्वमा जारी हिँसा, भोक र रोकको अन्त्यका लागि खर्चिने हो भने मानवअधिकार सुरक्षित हुने धारणा राखे । 

उनले थपे,‘ठूला राष्ट्रहरुले संयुक्तराष्ट्र वडापत्रमा हस्ताक्षर गरेअनुरुप काम गर्नुपर्छ, ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईरहँदा यमन र सिरियाका मानिसहरुको हालत के छ ? त्यहाँका मानिसले खान पाएका छैनन्, शान्तिकासाथ बाँच्न पाएका छैनन्, यसका बारेमा गम्भिर हुनुपर्छ कि पर्दैन् ?’ 

उनले अघि थपे,‘विश्वका प्रायः देशहरुले संयुक्त राष्ट्र संघको वडापत्रलाई कानूनको रुपमा स्वीकार गरेको स्थिति छ, त्यसैले विश्वमा जारी हिँसा, भोक र रोगलाई निर्मुल पार्न सक्नु आजको चुनौति हो, वडापत्रअनुसार विश्वका मानिसहरु सार्वभौम भएर बाँच्न पाउँछन्, विश्वका मानिसहरुले आर्थिक, राजनीतिक, बालअधिकार, महिला, लैंगिक, शारिरीक, मानसिक अधिकारहरुको उच्चतम प्रयोग गर्न पाउनुपर्छ ।’ 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका कानुनी सल्लाहकार सुशील प्याकुरेलले मानवअधिकारको बारेमा कुरामात्रै गर्नुभन्दा पनि यसलाई व्यबहारमा उतार्नुपर्ने बताए । उनले भने,‘शम्भुरामजीले लेख्नुभएको पुस्तक विश्वका अधिकार नपाएका पीडित मानिसहरुको ग्रन्थ हो, यसको सक्दो उपभोग गर्नुपर्छ, सवल र सक्षम राज्यको सक्रियतामा मात्रै मानवअधिकार सुरक्षित हुनसक्छ।’

त्यस्तै कार्यक्रममा त्रिविका पूर्व उपकुलपति प्रा.डा.केदारभक्त माथेमाले असमानता र विभेद सिर्जना भएको खण्डमा मानव अधिकारको खाँचो पर्ने बताए । 

उनले भने,‘मानव अधिकारजस्तो संवेदनशील विषयलाई राज्यले उचित प्राथमिकता दिनुपर्छ, नेपालमा ४७ प्रतिशत मानिसहरुले कर्जा ऋण लिएर जीवन चलाईरहेका छन्, विश्वका मानिसहरुको अवस्था र नेपालको मानव अधिकारको अवस्थाका बारेमा शम्भुरामजीको यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मैले लिएको छु, यो पुस्तक मत्वपूर्ण भएकाले मानव अधिकारसम्बन्धी जान्न चाहने, यस क्षेत्रमा काम गर्ने र विश्वविद्यालयमा समेत पढाउँदा राम्रो हुने देख्छु ।’ 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले ‘आत्मसम्मानको लागि खडा होऔं’ भन्ने नाराकासाथ नेपालमा पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईएको जानरी दिए । 
उनले भने,‘नेपालको वर्तमान मानव अधिकारको अवस्थाका बारेमा सरकारलाई हामीले आयोगका तर्फबाट जानकारी दिईसकेका छौं, १५२ उजुरीहरुमाथि कारबाही भएको छ, ३८० उजुरीमाथि अनुसन्धान जारी छ, करिब ९३६ उजुरीहरु सिफारिस गरिएको छ, सबै उजुरीको सन्दर्भमा भन्नुपर्दा ३९ प्रतिशत उजुरीहरु कार्यान्वयनमा आएका छन् ।’ 

नेपालमा मानवअधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने हो भने राजनीतिक एकाग्रता चाहिने उनको भनाई छ । पाठकले भने,‘राजनीतिक दल, मावन अधिकारकर्मीलगायत सबै क्षेत्रबीच सहमति र सहकार्य चाहिन्छ । अन्यायमा परेका व्यक्तिहरुमाथि राजनीतिक नजरले हेरिनुहुँदैन, शम्भुरामजीको यो पुस्तक निक्कै महत्वपूर्ण छ ।’ 

पुस्तकका लेखक डा. सिंखडाले दोस्रो विश्व युद्धपछिको विश्वको मानवअधिकारको वर्तमान अवस्थाको बारेमा आफूले भोगेका र अनुभव गरेका कुराहरु समावेश गरेर पुस्तक प्रकाशन गरेको सुनाए । पुस्तक बिक्रिमार्फतको सम्पूर्ण रकम विश्वशान्ति चिरन–मिलन (सामुदायिक) क्याम्पस बाँसबारी, काठमाडौंलाई प्रदान गर्ने जानकारी पनि सिंखडाले दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया