काठमाडौं– घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि सांघतिक आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको बिरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि कैलाली बन्दको आह्वान गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले आज्ञ विज्ञप्ति सार्वजनिक गरेर कार्यकर्तालाई बिनाशर्त रिहाई गनुपर्ने माग गर्दै बन्दको आह्वान गरेको हो ।
कैलाली ईन्चार्ज महान र सेक्रेटरी अमरद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रहरीले आफना नेता कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाई सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
यसैबीच, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई आक्रमण गरेको भन्दै प्रहरीले विना कारण निर्दाेष ब्यक्तिलाई पक्राउ गरेको मुद्दा दर्ता गरेको भन्दै प्रक्राउ परेका ब्यक्तिका आफन्तहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई सत्य तथ्य छानविन गरिदिन माग गरेका छन् ।
उनीहरुले आज प्रमुख जिल्ला अधिकारीलाई भेटी प्रहरीले विना कारण आफन्त पक्राउ गरेको भन्दै सत्य तथ्य छानविनको माग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी रिजालले घटनामा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले मुद्दा दर्ता गरी अहिले अनुसन्धानको प्रक्रियामा रहेका कारण सत्य तथ्य बाहिर आउन समय लाग्ने बताए ।
प्रतिक्रिया