एपेक्स डेभलपमेन्ट बैंकको ठगी प्रकरण : के राष्ट्र बैंकले टेक ओभर गर्दैछ एनसीसीलाई ?

६ बर्ष अगाडि

काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बाग्मती नदीलाई समेत धितोमा राखेर बैंकबाट ऋण लिएको विषयमा आधारित रहेर टेलिचलचित्र नै बनाएका थिए । त्यस्तै सुदखोर तरिकाले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताको रकम दुरुपयोग गरेको पाइएको छ ।
यही चैत २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले एनसिसि बैंकमा मर्जरको सहमति गरेको एपेक्स डेभलपमेन्ट बैंकका तत्कालिन अध्यक्ष सहित कर्मचारीलाई पक्राउ गर्यो ।
प्रहरीको अनुसन्धानबाट के पत्ता लाग्यो भने उनीहरुले वाग्मती नदीको जग्गा समेत धितोमा राखेर ऋण दिएको पाइएको छ ।
एपेक्स डेभलमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल नेपाली काँग्रेसका चल्तापूर्जा नेता पनि थिए । लमजुङमा काँग्रेसको राजनीति गर्ने धितालको माथिसम्म राम्रै सम्बन्ध थियो । शेरबहादुर देउवा, आरजू राणा, रामचन्द्र पौडेल, शंकर भण्डारीलगायतसँग धितालको राम्रै उठबस पनि थियो । उनले आफू काँग्रेसको नेता भन्दै बैंकका शेयरधनी र ऋणीलाई समेत धम्क्याउन छाड्दैन थिए ।
प्रहरीको अनुसन्धानअनुसार धितालले वाग्मती नदीमुनिको जग्गा समेत धितोमा राखेर ऋण प्रवाह गरेको पाइएको छ ।
कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्दै जाँदा फेला परेको तथ्य के थियो भने उनीहरुले सरकारी, निजी सबै प्रकारका जग्गाको नक्कली कागजात तयार पारेर ठगी गरेको पाइएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ । तर आरोपीको सूचीमा अझै ३० जना रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको बताइएको छ ।
कमशल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको पाइएकाले सो बैंकका सञ्चालक समिति सदस्यसहित कर्मचारीलाई पक्राउ गरिएको हो ।
प्रहरीकाअनुसार एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ र सोही बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट रहेका छन् ।
यस्तै बैंकका वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सो बैंकका लोकन्थली शाखा प्रमुख सागर नेउपाने, शाखा प्रबन्धक मानबहादुर राउत, सहायक महाप्रबन्धक विनितामणि उपाध्याय र शाखा प्रबन्धक मोहन खरेल पक्राउ परेका छन् । उनीहरुमाथि छानबिन भइरहेको छ ।
 
एनसिसि बैंकसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, निमित्त प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धकलगायतले कृत्रिम ऋणी खडा गरी नागरिकको निक्षेपमाथि अनियमितता गरेका थिए ।
उनीहरुले रु एक अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको बताइएपनि रकम त्यो भन्दा बढी हुन सक्ने देखिएको छ ।
 निश्चित क्षेत्रको कमसल जमिनमा विभिन्न ऋणी खडा गरी कर्जा प्रवाह गरेको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको र सरकारी र निजी जग्गाको नक्कली जग्गाधनी प्रमाणपूर्जा समेत बनाइएको पाइएको छ ।
ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणलाई स्वीकृत गरेको, मोटरबाटो नभएको, भिरालो पाखो बारी खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको पाइएको छ ।
यस्तै कमसल जग्गा धेरै टुक्रा पार्ने र धेरै ऋणीको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराइ साक्षी समेत नराखी कर्जा दिएको, सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीलाई पुनः दोस्रो कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ ।
एउटै व्यक्ति सञ्चालक हुने र पुराना खराब ऋणीलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको, अधिकांश धितो मूल्यांकन प्रतिवेदन यथार्थपरक नरहेको समेत थप अनुसन्धानबाट खुलेको छ ।
 
के राष्ट्र बैंकले टेक ओभर गर्दैछ एनसीसीलाई ?
नेपाल राष्ट्र बैंकको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुलाई नियन्त्रणमा लिएको हो । तर बैंक नै धरापमा पर्ने स्थिती आएको भन्दै नेपाल राष्ट्र बैंकले नै एनसिसि बैंकलाई टेक ओभर गर्नुपर्ने अवस्था आउन लागेको पाइएको छ ।
तर एनसिसि बैंकले एक सूचना प्रकाशित गरी बैंक सामान्य अवस्थामा  रहेको जनाएको छ । तर बैंकमा रकम झिक्न आउनेहरुको भीड बढेको छ ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले मर्जरका क्रममा गम्भीर कैफियत देखिएको र नागरिकको निक्षेपमा समस्या आए राष्ट्र बैंकले उचित निर्णय लिने बताएका छन् ।
उनले एपेक्सले कर्जा प्रवाह व्यावसायिक सुशासनमा गम्भीर गल्ती गरेको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाउन परेको हो ।
यो प्रकरण प्रहरीकोमा पुगेकाले केन्द्रीय बैंकले थप केही गर्न नस्क्ने बताएपनि राष्ट्र बैंकलाई एनसिसि बैंक टेक ओभर गर्न दबाव परेको बताइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया