गर्मी ठाउँमा जन्मिएका थिए येशु, तर किन मनाइन्छ चिसोमा क्रिसमस ?

५ बर्ष अगाडि

एजेन्सी – क्रिसमसका अधिकांश परम्पराको मुल गैरक्रिश्चिय रहेको छ । क्रिसमस मनाउँदा प्रयोग गरिने धेरै परम्पराको सम्बन्ध जिससको जन्मसँग भन्दा पनि क्रिश्चियन धर्म युरोप पुग्नु अघि युरोपमा कायम रहेका विभिन्न पर्वसँग रहेको छ । 

क्रिसमसको वास्तविक मुल खोज्ने हो भने २००० वर्ष पहिलेको रोमनहरुले मनाउने एक चाड र उत्तरी युरोपमा लोकप्रिय ‘युल’ पर्वमा ध्यान दिनुपर्छ । रोमन साम्राज्यमा डिसेम्बरमा खेतीपाती सकिएको खुसीयालीयामा ‘सेटेनेलिया’ चाड मनाइन्थ्यो । 

यो पर्वमा ठूलो उत्सवको माहौल हुन्थ्यो । यो पर्वमा गाउने, नाच्ने, जुवा खेल्नेदेखि विपरित लिङ्गीको कपडा लगाएर हिँड्ने समेत गरिन्थ्यो । 

त्यस्तै त्यही समयमा रोमनहरुको प्रभाव नपरेको उत्तरी युरोपका बासिन्दाले ‘युल’ चाड मनाउथे । हिँउले सम्पूर्ण क्षेत्र छपक्कै ढाकिएको यो समय मानिसहरु सूर्यको सम्मान स्वरुप यो पर्व मनाउने गर्थे । 
यो पर्वमा त्यो क्षेत्रमा बसोबास गर्ने परिवारले आफूले भेट्ने सबैभन्दा ठूलो मुडा जलाउँथेसाथै जाडोका कारण उत्पन्न हुने डिप्रेसनको भावना हटाउनको लागि हरियो वनस्पतिलाई चाड मान्नेहरुको छेउमा राख्थे । 

के जेसस क्राइस्टको जन्म डिसेम्बर २५ मानै भएको थियो ?
खासमा डिसेम्बर २५ मा जिससको जन्मदिन भएको भन्ने कुनै प्रमाण छैन । उनको निश्चित जन्मदिन कसैलाई थाहा छैन ।

इतिहासकारहरुका अनुसार पाँचौ शताब्दीमा क्रिश्चियानीटीले युरोपमा प्रभुत्व जमाइसक्दा पनि उत्तर युरोपका बासिन्दाले ‘युल’ पर्व छाड्न मानेनन्।

तब क्रिश्चियन नेताहरुले विस्तारै यो लोकप्रिय परम्परालाई जिससको जन्मदिनको उत्सवको रुपमा बदलिदिए । 

यो पर्वमा जिससको जीवनसँग जोड्नु एक हिसाबले क्रिश्चियन पादरीहरुको चलाखी थियो । 

क्रिस्मसमा समयमा हुने हिंसाले कुनै समय अमेरिकामा क्रिसमस प्रतिबन्धित थियो । 
क्रिसमस प्रारम्भिक हजार वर्षसम्म हुलाहाहरुको पर्व मानिन्थ्यो । क्रिसमसको समयमा बेलायतका गल्लीहरु हुलाहा समूहको नियन्त्रणमा हुन्थ्यो ।
 
त्यो समय कुनै जोगीलाई ‘अराजकताको राजा’ घोषणा गरिन्थ्यो । भिडले धनीहरुको घरका ढोका ढोकामा गएर ढकढक्याएर आफूलाई सबैभन्दा राम्रो खाना र पेय दिनको लागि धम्काउँदै हिँड्थ्यो। यदी उनीहरुले त्यसो गर्न मानेनन् भने उनीहरुले‘क्रिसमसको हिंसा’ भोग्नुपर्ने धम्की दिइन्थ्यो । 

यही कारणले शुद्धतावादी प्युरिटनहरुको उल्लेख्य संख्यारहेको अमेरिकी राज्य म्यासाच्युसेटमा क्रिसमसलाई प्रतिबन्ध लगाइएको थियो । साथमा म्यासाचुसेटका छिमेकमा रहेका ६ अन्य अमेरिकी राज्यको उलेख्य भूभागमा क्रिसमसलाई प्रतिबन्ध लगाइएको थियो । 

सन् १६५९ देखि १६८१ बीचमा म्यासाचुसेटमा क्रिसमसको बेला यसका कुनै पनि संकेतको प्रयोग गरेमा ५ सिलिङ जरिवाना तिराइन्थ्यो । यो रकम भनेको तत्कालिन समयमा एक श्रमिकको एक हप्ताको कमाई हुन्थ्यो । यो कुराले गर्दा अमेरिकामा क्रिसमस निक्कै अलोकप्रिय भयो । 

अमेरिकाको संघीय सरकारले सन् १८७० मा क्रिसमसलाई राष्ट्रिय पर्व घोषणा नगरेसम्म यो व्यवस्था कायम थियो ।

अमेरिका र त्यहाँबाट विश्वभरी क्रिसमसको उत्थान
क्रिसमसप्रति रहेको उलेख्य घृणाको अवस्थाबाट अमेरिका सन् १८७० को सरकारको राष्ट्रिय वर्ष घोषणा गर्ने अवस्थासम्म कसरी आइपुग्यो त ?

क्रिसमसमाथिको प्रहार क्रिसमसभित्रको प्युरिटन सम्प्रदायबाट आएको थियो । प्युरिटनहरुको मुख्य लक्ष्यनै क्रिश्चियन धर्मभित्र रहेका अन्य धर्मबाट प्रभावितऋतिथितिहरुलाई हटाएर क्रिश्चियन धर्मलाई शुद्ध बनाउनु थियो । 

तर, क्रिश्चियन भित्रकै अन्य सम्प्रदायमा भने क्रिसमसप्रति त्यति धेरै घृणाको भावना थिएन । 
अमेरिकामा क्रिसमसप्रतिको घृणाको भावना१९ औँ शताब्दीको अन्त्यसम्म निक्कै कम भइरहेको थियो । यसमा यो अवधिमा त्यहाँको जनसंख्यामा आएको उलेख्य फेरबदलको प्रमुख भूमिका थियो । 

१९ औं शताब्दीको मध्यतिर छोटो समयमै १५ लाख क्याथोलिक धर्म मान्ने आइरिसहरु अमेरिका बसाई सरेर आईपुगे । त्यो समय आयरल्याण्डमा आएको ठूलो भोकमरीले ठूलो जनसंख्यालाई बसाईसराई गर्न उत्प्रेरित गरेको थियो । 

उनीहरुले आफूसँगै युरोपमा मान्ने गरेको क्रिश्चियन परम्पराहरु पनि अमेरिका ल्याए । विस्तारै उनीहरुको प्रभावले गर्दा क्रिसमस आम क्रिश्चियनहरुमा स्वीकार्य पर्वमा बदलियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया