नेमारलाई बार्सिलोना फर्काउन अर्थुरको प्रार्थना

५ बर्ष अगाडि

एजेन्सी – स्पेनिस बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर अर्थुर मेलोले पूर्वस्टार नेमार पुनः बार्सिलोना फर्किएको हेर्न आफु आतुर रहेको बताएका छन् ।

ब्राजीलका सुपर स्टार नेमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा त्यति नरमाएको समाचार आइरहेका बेला अर्थुरले यस्तो बताएका हुन् । क्रिसमसको अवसरमा ‘मुन्डो डेपोर्टिभो’ सँगको कुराकानीमा अर्थुरले नेमार बार्सिलोना फिर्ता फर्कने सम्भावना बढी रहेको बताए ।

‘नेइमार युवा र क्षमतवान खेलाडी हुन् । म भगवानसँग प्रार्थना गर्छु । नेमार बार्सिलोना फर्किउन् । नेमारका लागि बार्सिलोना सबैभन्दा फिट क्लब हो,’ २२ बर्षीय अर्थुरले भने । नेइमार जस्ता क्षमतवान खेलाडीलाई बार्सिलोना उत्कृष्ट क्लब भएको पनि अर्थुरले बताए ।

अर्थुर यसै सिजनको सुरुवातमा बार्सिलोनामा अनुबन्ध भएका थिए । उनले आफु बार्सिलोनामा अति रमाएको पनि बताए । ‘मैले बार्सिलोनाको जस्तो खेलाडीमा एकता अन्त पाएको छैन । बार्साको शक्ति र सफलता भनेकै खेलाडीबीचको एकता हो । वास्तवमा बार्सिलोना विश्वकै एक भव्य क्लब हो,’ अर्थुरले थपे ।

नेमार र अर्थुर दुवै खेलाडी ब्राजीलको भएकाले पनि यी दुईबीच भावनात्मक सम्बन्ध राम्रो रहेको बुझिएको छ । ब्राजील राष्ट्रिय टोलीका खेलाडी अर्थुरले बार्सिलोनाका लागि यसबर्ष ११ खेल खेलेका छन् ।

बार्सिलोनाका पूर्व स्टार नेमार दुई बर्षअघि किर्तिमानी रकम दुई सय २२ मिलियन युरोमा बार्सिलोना छाडेर पीएसजी गएका थिए । तर उनलाई पीएसजी भन्दा बार्सिलोना नै मन परेको खुलासा बारम्बार भइरहेको छ ।

नेमारले पनि नजिकका साथीसँग आफु बार्सिलोना फर्कन चाहेको बेलाबेलामा बताउँदै आएका छन् । पीएसजीमा नेमार इडिन्सन काभानी र केलियन एमबाप्पेको छायाँमा परेको समाचर पनि यसअघि बाहिरिएक थिए । यदि, नेमार बार्सिलोना फर्किए भने सबैभन्दा खुशी उनै अर्थुर हुनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया