अध्यक्षद्वयको प्रतिवेदन पारित

५ बर्ष अगाडि


काठमाडौँ – गत दुई साताअघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन आज सम्पन्न बैठकले पारित गरेको हो । गत मङ्सिर २९ गते शुरु भएको सो बैठकमा पार्टी र सरकारको कामबारे घनीभूत छलफल भएपछि सदस्यले दिएका सुझाव, आलोचना र पूरक प्रस्तावलाई ध्यानमा राखी प्रतिवेदन पारित गरेको छ । 

बैठकले पार्टी एकताको बाँकी काम यही पुसभित्र सक्ने गरी कार्यदल गठन पनि गरेको छ । यस निर्णयसँगै नेकपाभित्र हाल देखिएको विवाद साम्य भएको छ । बैठकमा नेता वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रस्ताव पेश गर्नुभएको थियो । 

बैठकले सङ्गठनात्मक एकताबारे गृहकार्य गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रामबहादुर थापा, शङ्कर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र लेखराज भट्ट रहेको कार्यदल गठन गरेको छ । स्थायी कमिटीका सदस्य एवं कार्यदलका सदस्य भट्टराईले आफूहरुले दुई साताभित्र प्रतिवेदन तयारी गरी आगामी बैठकमा सुझाव दिने र त्यसका आधारमा तल्ला तहको एकताको काम टुङ्गो लगाइने बताउनुभयो । 

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई गठन भएको नेकपामा हालसम्म प्रदेश कमिटीले मात्र पूर्णता पाएको छ भने जिल्ला कमिटी र जनसङ्गठनको एकता बाँकी छ । यसअघि पार्टीको सचिवालयको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्गो लगाउन महासचिव पौडेलको संयोजकत्वमा अर्काे कार्यदल गठन गरिएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया