वाईडबडी खरिदमा ठूलो घोटाला भएको छ भन्दै मन्त्री, महाप्रबन्धक र सचिवलाई तत्काल बर्खास्त गरेर जेल हाल्न माग

५ बर्ष अगाडि

काठमाडौं–नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् । 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको दाबी गरे । उनले भने,‘ठूलो मास्टर प्लान बनाएर वाईडबडी खरिदमा घोटाला भएको छ । खरिद गर्दा सार्वजनिक खरिद ऐनपनि मानेको छैन ।’
उनले जहाज ‘ग्लोबल टेण्डर’ नगरीकन किनिएकोपनि आरोप लगाए । उनले भने,‘फ्रान्ससँग किन डाईरेक्ट किनिएन ? भ्रष्टाचार गर्नकै लागि विचौलिया राखिएको छ ।’ 
उनले जहाज खरिदको नाममा युनियनका नेतासमेत गरि ३८ जना भोजभतेर खानको लागि भ्रमणमा गएको दाबी गरे । उनले थपे,‘भ्रमणको नाममा पनि करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको छ ।’ उनले जहाज खरिदको ओरिजिनल बिल महाप्रबन्धक सुगतरत्न कंशकार र मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक गर्नुपर्ने बताए ।  
छानबिन गर्दा आफूहरुलाई कुनै दबाब नआएको उनले स्पष्ट पारे । उनले भने,‘समितिलाई कुनै पनि दबाब आएको थिएन । तर, निगमका महाप्रबन्धक कंशकारबाट हामीलाई आवश्यक सहयोग भएन । उहाँले हामीले मागेको प्रतिवेदन दिनुभएन ।’
यादवले तत्काल महाप्रबन्धक कंशकारलाई निलम्बन गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई हतकडी लगाउनुपर्ने उनको भनाई छ । उनले भने,‘यो प्रकरणका भ्रष्टाचारीहरुलाई हतकडी लगाउनुपर्छ । पर्दा पछाडि नायकहरुपनि होलान् । ती सबैलाई पर्दाफास गर्नुपर्छ ।’
उनले आफूहरुले बाहिर ल्याएको प्रतिवेदनमा उल्लेखित ४ अर्ब ३५ करोड ५६ लाख रकम घोटाला रकम बढ्नेपनि स्पष्ट पारे । उनले भने,‘यो आंशिक हो । ओरिजिनल बिल कहाँ गयो ? यो प्रकरणमा जो÷जो संलग्न छन्, ती सबैलाई कारबाही गर्नुपर्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले वाईडबडी खरिद प्रकरणमा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताए । उनले भने,‘यो प्रकरणमा मात्रै होइन, भ्रष्टाचार गर्नेजति सबैलाई कारबाही गर्नुपर्छ । जेल हाल्नुपर्छ । बदमास गर्नेहरुलाई कसैलेपनि छुट दिनुहुँदैन् ।’
नेता भण्डारीले सानालाई कारबाही र ठूलालाई छोड्ने काम भएको भन्दै अब त्यस्तो गर्न नहुने बताए । नेपालमा भ्रष्टाचार गरेर कमाउने र विदेशमा लगेर राख्ने गरेको सुनाउँदै उनले भने,‘नेपालको ईतिहाँसमा पहिलो चोटी वीरशमशेरले ४० करोड भारु विदेशमा लगेर राखेका थिए । अहिले नेपाल कमाउने र बाहिर विदेशमा लगेर राख्ने थलो भएको छ । जुन कुरा यहाँको जनताको जीवनस्तर हेरेर थाहा हुन्छ ।’
नेपालमा पछिल्लो समय भ्रष्टाचार र कमिशनतन्त्र बढेको सुनाउँदै जसले गलत गर्छ उसलाई कारबाही गर्नुपर्छ भनेर आफूहरुले भनिरहेको पनि जिकिर गरे । उनले भने,‘हामीले पञ्चायती व्यवस्थाको बेलामा पनि गधा काण्ड, चरेश काण्ड, उन काण्डदेखि प्लेन काण्ड सबै उठाएका हौं नि ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारापनि बालुवाटारमै छन् र यी भ्रष्टहरुपनि मेरै हुन र यी बालुवाटारमै छन् भनेजसरी बोलिरहेको उनले टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्रीले मैले यीनलाई बचाउनुपर्छ भन्ने शैलीमा, त्यो अर्थ लाग्नेगरि उहाँ बोलिदिनुहुन्छ । तर, उहाँले त्यो बोल्न हुँदैनथियो । उहाँले त बरु नेपालमा हत्या, हिंसा गर्ने र भ्रष्टाचारी जो सुकै होउन्, म उनीहरुलाई कारबाही गर्छु, म छोड्दिन भनेर बोल्नुपर्दथ्यो ।’

 

५ बर्ष अगाडि

प्रतिक्रिया