कर्मचारी सञ्चय कोषको चक्रवर्ती ब्याज, आयोजना सकिएको छैन, माथिल्लो तामाकोशीबाट २० अर्ब ब्याज

५ बर्ष अगाडि

काठमाडौ –  निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले निर्माण अवधिको ब्याज मात्रै रु २० अर्ब लिने भएको छ । कोषले आयोजनाबाट चmवर्ती ब्याज उठाएको छ ।

गत आर्थिक वर्षसम्म रु १४ अर्ब ४२ करोड ५८ लाख रहेकोमा यो वर्ष रु  ५ अर्ब ४१ करोड ५६ लाख थप भई रु १९ अर्ब ८४ करोड पुग्ने भएको छ । गत आर्थिक वर्षसम्मको ब्याज आयोजनाको लगानीमा पुँजीकरण भइसकेको आयोजनाले जनाएको छ ।

कोषले माथिल्लो तामाकोसीसँग हाल ११ प्रतिशत ब्याज लिँदै आएको छ । ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुरयाइएको  थियो । अहिले ब्याजदर घटाउनका लागि कोषसँग छलफल भइरहेको आयोजनाले जानकारी दिएको छ ।  निर्माण अवधिको ब्याज पुँजीकृत गरी आयोजनाको कुल लागतमा जोडिने गरेको छ ।

भूकम्पका कारण आयोजनाको निर्माण अवधि ३ वर्ष लम्बिएको र सञ्चय कोषले त्रैमासिक रुपमा चक्रवर्ती ब्याज गणना गर्दा लागत बढेको हो ।

स्वीकृत गरिएको लागतमा व्यापारिक बिजुली उत्पादनका लागि प्रक्षेपित निर्माण अवधि ६ वर्षका लागि ११ प्रतिशत आधारमा रु १३ अर्ब २२ करोड अनुमान गरिएको थियो । आयोजनाको समय लम्बिँदा अनुमानभन्दा रु  ७ अर्ब बढी ब्याज थप भएको छ ।

गत वर्षसम्म डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा आयोजनालाई थप रु ७ अर्ब ६ करोड व्ययभार थपिएको छ ।  आयोजना सुरु हुँदा १ डलर बराबर ८० रुपैयाँ थियो । रु ७ अर्ब ६ करोड थप रकम १ डलर बराबर औसत ९७ रुपैयाँ ६० पैसाको आधारमा हो । अहिले डलर बढेर रु ११२ छ । हाल डलरसँग नेपाली रुपैयाँ २५ प्रतिशतले अवमूल्यन भएको छ ।

आयोजनाको निर्माण अवधि लम्बिएपछि निर्माण सुपरिवेक्षण परामर्श सेवा, प्रशासनिक खर्च, बजार मूल्यमा वृद्धि, मुख्य सुरुङको डिजाइन संशोधन, हेडवक्र्समा केही सिभिल कामको परिमाण र करको दरमा भएको वृद्धिले समग्ररुपमा आयोजनाको लागत बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया