काठमाडौ स्मार्ट सिटीको प्रतिवेदन तयार, चार नयाँ शहर बन्ने

५ बर्ष अगाडि

काठमाडौ- काठमाडौं उपत्यकाको चार कुनामा आगामी पाँच वर्षमा चारवटा नयाँ शहर निर्माण गर्न छानिएको परामर्शदाता कम्पनीले स्थलगत रिपोर्ट बुझाएको छ । सरकारले २०७४ साल २५ बैशाखमा राजधानीको चार कुनामा स्मार्ट सिटी निर्माण गर्ने निर्णय गरेको थियो । त्यसबेला मन्त्रिपरिषद् बैठकले काठमाडौ उपत्यकाको चारवटै कुनामा चारवटा स्मार्ट शहर विस्तार गर्ने निर्णय गरेको हो । शहरी विकास मन्त्रालयले सार्वजनिक क्षेत्रबाट १०० अर्ब र निजी क्षेत्रबाट ४०० अर्ब लगानी जुटाएर स्मार्ट सिटी बनाउने प्रस्ताव अघि बढाएको थियो । सरकारको निकै महत्वकाँक्षी कामका रुपमा रहेको यस आयोजना आगामी ५ वर्षभित्र पूरा गर्ने लक्ष्य छ । राजधानी दैनिकमा याे खबर छापिएकाे छ । 

पाँच वर्षमा शहर नै तयार पार्नेगरि काठमाडौ उपत्यका विकास प्राधिकरणले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिरहेको छ । प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले स्मार्टसिटी निर्माणका लागि सम्भाव्यता र स्थलगत रिपोर्ट तयार भइसकेको जानकारी दिए । उनले अहिले परामर्शदाता कम्पनीले स्थलगत रिपोर्ट प्राधिकरणलाई बुझाइसकेको बताए । चारवटै स्मार्ट शहरकालागि आगामी असार मसान्तसम्म डिपिआर तयार पार्ने गरि काम भइरहेको उनको भनाई छ ।
प्राधिकरण प्रमुख आयुक्त तिवारीले यस नयाँ स्मार्टसिटी अहिले भइरहेको भन्दा व्यवस्थित, सुविधासम्पन्न र सहज हुने बताए । उनले यी सहरमा उपलब्ध हुने सुविधाको ‘स्मार्टपन’को कुनै सीमा नभएकाले नयाँ सहर भनिएको बताए । उनले यी सरहमा विश्वमा उपलब्ध सबै सुविधा पाइने जानकारी दिए ।

प्राधिकरणका अनुसार डिपिआर तयार भएपछि मन्त्रीपरिषदबाट स्विकृत गरिनेछ । त्यसपछि शहर निर्माणको काम अघि बढ्ने छ । प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनले चार वटा शहर विकास गर्नका लागि १० अर्ब रुपैयाँ लाग्ने देखाइएको छ । सरकारले बजेट व्यवस्थापन गरे काम सुरु गरेको तीन वर्षमा शहरको स्वरुप तयार पार्न सकिने छ । पूर्ण रुपमा शहरी पुर्वाधार विकास गर्न भने आगामी पाँच वर्ष समय लाग्ने परामर्शदाता कम्पनीले बुझाएको प्रतिवेदनले देखाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया