कांग्रेस जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार, नगर प्रमुखले गरे सडकमै पत्रकार सम्मेलन

५ बर्ष अगाडि

सिन्धुपाल्चोक । नगरसभा गरेर नगरपालिकाभित्र गर्नुपर्ने विकास निर्माणलगायतका अन्य काममा निर्णय लिनुपर्नेमा बाह्रबिसे नगरपालिकाका बहुमत सदस्यले नगरसभा बहिष्कार गरेपछि काम गर्न समस्या भएको भन्दै नगर प्रमुख निमफुञ्जो शेर्पाले सडकमै पत्रकार सम्मेलन गरेका छन् । बहुमत सदस्यले पटकपटक नगरसभा बहिष्कार गरेपछि काम गर्न समस्या भएको भन्दै नगर प्रमुख शेर्पाले पत्रकार सम्मेलन गरेका हुन् ।

बाह्रबिसे नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को संसोधित नगरसभा शुक्रबार बस्ने भन्दै नगर कार्यपालिकाका सबै सदस्यलाई पत्राचार गरेको थियो । तर, नेपाली कांग्रेसबाट निर्वाचित बहुमत सदस्यले नगरसभा बहिष्कार गरेपछि जनताका प्रत्यक्ष जनजीविकासँग सम्बन्धित निर्णय गर्न समस्या भएको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

यसअघि पनि कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यले बैठक बहिष्कार गर्ने गरेको शेर्पाको आरोप छ । ‘डेढ वर्षको बीचमा तीनपटक बैठक बहिष्कार भयो, जनतालाई जानकारी दिनका लागि पनि सडकमै पत्रकार सम्मेलनको आयोजना गरेको हो,’ नगर प्रमुख शेर्पाले भने, ‘हामी जनताबाट निर्वाचित भएका हौं त्यसैले केही समस्या हँुदा जनतालाई सार्वजनिक स्थानबाटै जानकारी दिऊँ भनेर सडकमै पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’ राजधानी दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया