पर्यटन मेला शुरु

५ बर्ष अगाडि

बेनी - बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो । 

स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको माघे सङ्क्रान्ति सांस्कृतिक एवं पर्यटन मेलाको आइतबार उद्घाटन गरिएको छ । पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रम, बेलढुङ्गा, डोलेलगायतका पर्यटकीयस्थलको प्रचारप्रसार र पर्यटन पूर्वाधार तयार गर्न सरोकारवालाको ध्यानाकर्षण गराउन मेलाले सहयोग पुग्ने वडाध्यक्ष पदम पुनले बताउनुभयो । 

पर्यटन मेलाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले पर्यटन क्षेत्रको विकासले स्थानीयको जीवनस्तर उकास्न ठूलो सहयोग पुग्ने बताउँदै लुकेर रहेका पर्यटकीय क्षेत्रको उजागर गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउँदै समुदाय र सरकारी पक्ष मिलेर काम गरेमा मात्रै विकास दिगो र टिकाउ हुने बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र बेनी नगरपालिका–६ का अध्यक्ष कृष्णसिंह बानियाँले परम्परागत मेलापर्वलाई कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन हुने गरी सञ्चालन गर्नु सकारात्मक पक्ष रहेको बताउँदै मेला पर्वमा हुने नराम्रो पक्षलाई निरुत्साहित गर्न आयोजकलाई सुझाव दिनुभयो । 

माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा विविध खेलकूद र सांस्कृतिक कार्यक्रम हुने मेला आयोजक समितिका संयोजक तारामिलन छन्त्यालले जानकारी दिनुभयो । 

राससकर्मी खत्री र गौतम सम्मानित 
यसैगरी म्याग्दीका तीन पत्रकार सम्मानित भएका छन् । बेनी नगरपालिका–३ भकिम्लीको मुसुङमा सञ्चालन भएको पर्यटन मेलाको अवसरमा आइतबार राससकर्मी पत्रकार कमल खत्री र सन्तोष गौतमसहित पत्रकार हरिकृष्ण गौतम सम्मानित भएका हुन् । 

स्वर्गाश्रम, बेलढुङ्गालगायतका पर्यटकीय क्षेत्रमा सञ्चार क्षेत्रमार्फत प्रचारप्रसार र स्थानीय सम्भावना र समस्या उजागर गर्न योगदान पु¥याएको भन्दै पत्रकारत्रयलाई सम्मान गरिएको हो । 

स्थानीय स्वर्गाश्रम युवा क्लबले माघेसङ्क्रान्ति पर्वको अवसरमा आयोजना गरेको पर्यटन मेलामा क्लब अध्यक्ष भीम पुन, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पत्रकारत्रयलाई सम्मानपत्र र खादा लगाएर सम्मान गर्नुभएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया