‘भ्रष्टाचारमा मुछिएपछि देउवाको छटपटीको आक्रोश’

५ बर्ष अगाडि

काठमाडौं–सत्तारुढ दल नेकपाका नेता एवम् सांसद खगराज अधिकारीले वाईडबडी खरिद प्रकरणमा कोही पनि दोषी उम्किन नपाउने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारले भ्रष्टाचारबारे सुन्य सहनसिलता अपनाएको छ । यो प्रकरणमा पनि स्वतन्त्र न्यायिक छानबिन समितिले पनि काम गरिरहेको छ । दोषीले उन्मुक्ति पाउँदैनन् ।’

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार जरैदेखि उखल्ने अठोट लिएको सुनाउँदै न्यायिक आयोगले अहिले छानबिन गरिरहेको सुनाए । उनले भने,‘न्यायिक समितिले निश्पक्ष र स्वतन्त्र रुपमा छानबिन गरिरहेको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू यो प्रकरणमा संलग्न नभएको बरु ओली र प्रचण्ड नै संलग्न छन् भनेर आरोप लगाउनुभएको छ नि भनेर सोधेको प्रश्नमा उनले भने,‘यो देउवाको छटपटीको आक्रोश हो । आकाशतिर थुक्दा आँफ्नै अनुहारमा थुक पर्छ ।’

उनले भ्रष्टाचारी, ठग र ढाँटहरु देशका धमिरा भएकोले यीनीहरुलाई समाप्त पार्नुपर्ने जोड दिए । उनले भने,‘यो प्रकरणमा जत्रो नेता भएपनि कोही पनि दोषी उम्किन पाउँदैनन् ।’ उनले यो प्रकरणमा सरकारले ढाकछोप नगरेको पनि जिकिर गरे । अधिकारीले भने,‘सरकारले भ्रष्टाचारीहरुलाई खोजी–खोजी ठाउँको ठाउँ कारबाही गर्छ ।’

आफ्नो पार्टी यो प्रकरणमा मौन नभएको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी बरु न्यायिक छानबिन समितिलाई प्रतिकुल असर नपरोस भनेर सचेत छ ।’ सरकारलेमात्रै नभएर सरकार, संसद तथा न्यायिक छानबिन समितिले पनि कार्यसम्पादन गर्दा जनतालाई गुमराहामा राखेर कसैको छाला बचाउने काम गर्न नहुने उनले धारणा राखे । 

फरक प्रसँगमा उनले अनशनरत गोविन्द केसीले उठाएका सबै माग पूरा भएको पनि जिकिर गरे । उनले भने,‘केसीले उठाएका शतप्रतिशत मागहरु पूरा भएका छन् । हामीले उहाँको सबै माग सम्बोधन गरेका छौं । उहाँले भनेकै मर्म र भावनाअनुसार विद्येयक आएको छ।’

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीले केसी अहिले अनशन बस्नुपर्ने कुनै कारण नभएको पनि जिकिर गरे । उनले तत्काल अनशन स्थगित् गरेर वार्तामा आउनपनि केसीलाई आग्रह गरे । उनले भने,‘तपाईको भावनाविपरित विद्येयक छैन । शरिरलाई दुःख दिने काम नगर्नुहोस् ।’

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया