किन रोकियो रसुवागढी र सान्जेनको शेयर बाँडफाँड ?

६ बर्ष अगाडि

काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको शेयर बाँडफाँड प्रक्रिया रोकिएको छ । बिक्री प्रबन्धनको लापरवाहीका कारण शेयर बाँडफाँड प्रक्रिया रोकिएको आशंका गरिएको छ ।
बिक्री प्रबन्धकले आफूलाई दिएको जिम्मेवारी समयमा पूरा गर्न नसक्दा समस्या थपिएको सम्बन्धित कम्पनीले दावी गरेका छन् ।
रसुवागढीको शेयर बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटलको अगुवाईमा एनआइबिएल, ग्लोबल आइएमइ र एनसिएम मर्चेन्ट बैंकिङ रहेका छन् ।
यस्तै सान्जेनको  नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।
दुवै कम्पनीले सि–आस्बा प्रणाली बाट सेयर खरिद गर्न आवेदन माग गरेका थिए । सि–आस्बा प्रणाली पहिलो पटक कार्यान्वयन भएकाले विवरण सूचीकृत गर्न केही समस्या देखिएको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाको भनाइ छ ।
जलविद्युत् कम्पनीको सिमित आइपिओमा आवेदन दिने केही आवेदकको आवेदन रद्द भएका कारण शेयर बाँडफाँड प्रक्रिया लम्बिएको उनले बताए ।  
कम्पनीकाअनुसार केही आवेदनमा डिम्याट खाता प्रस्ट नभएको, खाता नम्बर प्रस्ट नलेखिएको, नाम तथा ठेगाना समेत समेत स्पष्ट नदेखिएको पाइएकाले त्यस्ता आवेदन रद्द हुने देखिएको छ । तर कम्पनीले आवेदन दिएका सबैलाई शेयर दिने तयारी गरिएको छ ।
 केही आवेदन रद्द भएकाले उनीहरूको विवरणसमेत समेटेर बाँडफाँड गर्ने तयारी गरिएकको कम्पनीले जानकारी दिएको छ ।
रसुवागढी जलविद्युत् कम्पनीले गत फागुन ११ गतेदेखि ३० गतेसम्म जारी गरेको सिमित आइपिओमा ६ गुणा बढी आवेदन परेको थियो । रद्द भएका आवेदकलाई मिलाएर दिने लक्ष्यका साथ केही ढिलाई भएको भएपनि अब केही दिन भित्रै बाँडफाँड गरिने आयोजनाले दिएको छ ।
केही शेयर आवेदन फर्ममा समस्या देखिएका कारण शेयर बाँडफाँडमा समस्या भएको हो । आयोजनाले शेयर बाँडफाँडको तयारी गरिरहदा करिब पाँच हजार कर्मचारीको डिम्याट नम्बर प्रस्ट नलेखेको, बैंक खाता नम्बर प्रष्ट नभएको तथा नाम तथा ठेगाना समेत स्पष्ट नभएको पाइएको आयोजनाले जानकारी दिएको छ ।
रसुवागढी हाइड्रो पावर कम्पनीका कोइरालाले केही दिन भित्रै शेयर बाँडफाँड गरिने बताए । उनले प्रष्ट रुपमा आवेदन नदिएकालाई समेत शेयर दिने तयारी अनुसार नै केही ढिलाई भएको बताए ।
आयोजनाले शेयर आवेदनकर्ता सबैलाई न्यूनतम ७० कित्ता शेयर दिने तयारी गरेको छ ।
रसुवागढी हाइड्रो पावर कम्पनीको सेयर खरिद गर्न आवेदन दिएका सञ्चय कोषमा रकम जम्मा गर्ने सबै सञ्चयकर्ताले करिब ७० कित्ता सेयर पाउने निश्चित जस्तै रहेको बताइन्छ । मागभन्दा ६ गुणा बढी आवेदन परेकाले सबै सञ्चयकर्तालाई पुग्ने गरी बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सञ्चयकर्ताका लागि छुट्ट्याइएको शेयरमा १ लाख ८८ हजार आवेदन परेको छ । सो आवेदनबाट आवेदनबाट रु ६ अर्ब ७० करोड रकम संकलन भएको छ ।
 हरेकको भागमा करिब ७० कित्ता, बाँडफाँडको नतिजा केही दिन कुर्नुपर्ने देखिएको छ । कूल १११ मेगावाट क्षमताको सो आयोजना रसुवामा निर्माण भइरहेको छ ।
कम्पनीले सञ्चयकर्तालाई  १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर छुट्टयाएको छ ।
यसैगरी, कम्पनीले गत सोमबारदेखि संस्थापक संस्थाका कर्मचारीलाई शेयर बिक्री गर्न थालेको छ ।
त्यसमा नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर  बिक्री खुल्ला सुरु गरेको छ । चैत ५ गतेदेखि सुरु भएको सो शेयर बिक्री यही चैत १३ गतेसम्म बिक्री गरिनेछ ।
आयोजनाकाअनुसार संस्थागत संस्थाका कर्मचारीका लागि रु २३ करोड ९४ लाख ७३ हजार ५ सय बराबरको २३ लाख ९४ हजार ७ सय ३५ कित्ता सेयर निष्कासन गरिएको छ ।
साञ्जेनका लगानीकर्तालाई ४० कित्ता शेयर दिइने
सान्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न आवेदन दिएका हरेक सञ्चयकर्ताले करिब ४० कित्ता शेयर दिने तयारी गरिएको छ ।
मागभन्दा झन्डै ६ गुणा बढी आवेदन परेकाले सेयर संख्या केही कम हुने बताइएको छ ।
कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि बिक्री खुला गरिएकोमा १ लाख ८६ हजारले आवेदन दिएका थिए ।
 रसुवामा निर्माण भइरहेको ५७.३ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले सबैलाई शेयर दिने तयारी गरिएका कारण शेयर वितरणमा ढिलाई भएको बताए ।
उनका अनुसार आवेदकबाट रु ४ अर्ब २० करोड संकलन भएको छ । सञ्चयकर्ताका लागि छुट्याइएको रु ७१ करोड १७ लाख ५० को शेयरका  लागि कम्पनीले ७१ लाख १७ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो ।
 केही आवेदन रद्द भएकाले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार बाँडफाँड गर्ने तयारी गरिएको छ ।
कम्पनीले सोमबारबाट संस्थापक संस्थाका कर्मचारीलाई शेयर बिक्री गरिनेछ । ती संस्थामा नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका साविक गाविस र जिल्ला विकास समितिका कर्मचारी र ऋणदाता संस्थामा कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि शेयर बिक्री गरिरहेको छ ।
संस्थापक संस्थाका कर्मचारीका लागि रु १२ करोड ७७ लाख ५० हजार बराबरको १२ लाख ७७ हजार ५ सय कित्ता शेयर निष्कासन गर्न गरिएको हो ।
ऋणदाता संस्थाका कर्मचारीका लागि रु ३ करोड ६५ लाख बराबरको  ३ लाख ६५ हजार कित्ता शेयर छुट्याइएको छ । संस्थापक र ऋणदाता संस्थाका कर्मचारीले यही चैत १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया