सम्बन्धविच्छेदको मुद्दा

५ बर्ष अगाडि

 

भोजपुर – नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । 

नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका हुन् । जिल्ला अदालत भोजपुरका अनुसार भदौमा नौ, असोजमा तीन, कात्तिकमा दुई, मङ्सिरमा दुई, र पुस महीनाको मसान्तसम्म चार पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका अदालतका नायब सुब्बा नवीन कोइरालाले जानकारी दिनुभयो । त्यस्तै २१ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका छन् । 

अदालतमा पाँच महीनामा आएका जम्मा ४१ वटा मुद्दामध्ये २० वटा फैसला भएका छन् भने २१ वटा फैसला हुन बाँकी रहेको छ । वैदेशिक रोजगार, पारिवारिक असमझदारी, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु सम्बन्धविच्छेदका प्रमुख कारण रहेको जनाइएको छ । 

दुई हजार ४०० लाई नागरिकता वितरण 
जिल्ला प्रशासन कार्यालय भोजपुरले चालू आर्थिक वर्षको छ महीनामा एक हजार ७०० बढी नागकिता वितरण गरेको छ । कार्यालयले चालू आवको साउनदेखि पुस मसान्तसम्म पुरुष ८०० र महिला ९०९ गरी एक हजार ७०९ वटा नयाँ नागरिकता वितरण गरेको हो । 

त्यस्तै छ महीनाको अवधिमा पुरुष ३७१ र महिला २२४ गरी कूल ५९५ प्रतिलिपी वितरण गरेको छ भने तीन वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक कम्प्युटर अपरेटर दिनेश तामाङले जानकारी दिनुभयो । 

कार्यालयले साउन महीनामा २८६, भदौ महीनामा २४०, असोजमा २५९, कात्तिक ५७५, मङ्सिर ४५५ र पुस महीनामा ४१२ वटा नागरिकता वितरण गरेको छ । इलाका प्रशासन कार्यालयले सो अवधिमा ३२३ महिला र ३८३ पुरुष गरी ७०६ लाई नयाँ वितरण गरेको इलाका प्रशासन कार्यालय दिंलाका प्रमुख विजय राईले जानकारी दिनुभयो । जिल्ला प्रशासन कायालय भोजपुर र इलाका प्रशासन कार्यालय दिंगलाबाट गरी दुई हजार ४०६ ले नागरिकता लिएका हुन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया