सलमानकी पूर्व नायिकालाई भयो के ?

६ बर्ष अगाडि

मुम्बई । सन् १९९५ को चलचित्र ‘वीरगति’मा सलमानको हिरोइन बनेकी पूजा डडवाल पछिल्लो समय मुम्बईस्थित शिवडी टीबी अस्पतालमा उपचाररत छिन् । 

आर्थिक अभावका कारण उनको उपचारमा अप्ठ्यारो देखिएपछि भोजपुरी फिल्मका सुपरस्टार रवि किशन सहयोगका लागि अघि सरेका छन् । 

हालै सार्वजनिक भएको एक भिडियोमा पूजा अस्पतालको जनरल वार्डमा देखिएकी छिन् । उनलाई रवि किशन र एक व्यक्तिले फलफूल र आर्थिक सहयोग गरेको देखिएको छ ।

केही दिन अघि मिडियामा पूजा अस्पताल भर्ना भएको खबर आएको थियो ।

पूजाले मिडियासँग कुराकानी गर्दै आफूलाई ६ महिनाअघि टिबी भएको थाहा भएको बताएकी थिइन् ।

उनले सहयोगका लागि सलमानसँग सम्पर्क गर्न खोजेपनि त्यो सफल हुन नसकेको पनि बताएकी थिइन् ।

‘म पछिल्लो १५ दिनदेखि यो अस्पतालमा भर्ना भएकी छु,’ उनले भनेकी थिइन्, ‘यो भिडियो हेरे पनि सायद उनले मलाई केही सहयोग गर्ने छन् ।’

उनले पछिल्लो केही वर्ष आफू गोवाको एक क्यासिनोमा काम गर्ने गरेको र अहिले आफूसँग उपचारको लागि पैसा नभएको बताएकी थिइन् । ‘चिया पानीको लागि पनि म अरुमा आश्रित छु,’ उनले भनेकी थियन् ।

सलमानको संस्था बिइङ ह्युमनका अनुसार हालसम्म पूजाको सहयोगका लागि आधिकारिक रुपमा मद्दत माग्न कोही नआएको प्रतिक्रिया दिएको छ ।

यता, सलमानका प्रवक्ताले भने आफूले अस्पतालसँग सम्पर्क गर्दा उक्त अस्पतालका अधिकारीले त्यहाँ कोही नायिका भर्ना नभएको र टिबीको उपचार निःशुल्क हुने बताएको जानकारी दिए । उनले पूजाको परिवारसँग सम्पर्क भए आफूलाई जानकारी दिन समेत मिडियासँग आग्रह गरे ।

मिडिया रिपोर्टका अनुसार पूजा बिरामी भएपछि उनको पति र परिवारका सदस्यले उनलाई एक्लै छाडेका छन् । जसले उनी थप समस्यामा परेकी छिन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया