(Monday, 22 April, 2019)
By: आजको अर्थ
फागुन १, २०७५

पारमाणिवक युद्धको खतराको सोचले नै मानिसलाई त्राहिमाम् बनाउँछ। तर पनि परमाणु अस्त्र र अन्य हतियारबीचको भिन्नता मेटिँदै गर्दा युद्धको खतरा बढिरहेको छ। पारमाणविक र गैरपारमाणविक अस्त्रहरू एकआपसभन्दा बिल्कुलै भिन्न कहिल्यै थिएनन्।

उदाहरणका लागि बी- २९ बमवर्षक विमान गैरपारमाणविक बम खसाल्न बनाइएको थियो तर सन् १९४५ मा जापानको हिरोशिमामा इनोला गे नामक यस्तै विमानबाट परमाणु बम खसालियो।

हिरोशिमामा परमाणु बम खसालिएको ७४ वर्षपछि अहिले विश्वका नौ देशसँग हजारौँ पारमाणविक अस्त्र छन् र ती अस्त्रहरू अब गैरपारमाणविक हतियारसँग एकाकार हुँदै गएका छन्।

सन् १९८६ मा विश्वमा सबैभन्दा धेरै ६४ हजार पारमाणविक अस्त्र थिए, अहिले त्यो सङ्ख्या कम छ तर समकालीन केही परमाणु हतियारहरू हिरोशिमामा खसालिएको बमभन्दा ३०० गुणा शक्तिशाली छन्।

ब्रिटेनबाहेक अरू सबै परमाणु अस्त्र भएका देशहरूसँग पारमाणविक वा गैरपारमाणविक दुवै खाले अस्त्र प्रयोग गर्न मिल्ने प्रविधियुक्त क्षेप्यास्त्र छन्।

रुसले भर्खरै बनाएको क्रुज क्षेप्यास्त्र ९ एम ७२९ यसको एउटा उदाहरण हो। अमेरिकाका अनुसार ५०० किलोमिटर परसम्म प्रहार गर्न मिल्ने त्यो क्षेप्यास्त्रमा पारमाणविक र गैरपारमाणविक दुवै अस्त्र प्रयोग गर्न मिल्छ।

अमेरिकाले त्यो रुसी क्षेप्यास्त्र लामो दूरीको परमाणु अस्त्रविरुद्धको एक अन्तर्राष्ट्रिय सहमति विपरीत भएको दाबी गरेको छ। अमेरिकाले नयाँ अस्त्र होडबाजीप्रति चिन्ता व्यक्त गर्दै आफू सो सहमतिबाट बाहिरिने घोषणा गरेको छ।

चीनले भर्खरै नयाँ डीएफ-२६ क्षेप्यास्त्र प्रदर्शन गरेको छ। त्यो क्षेप्यास्त्र २,५०० किलोमिटर परसम्मको लक्ष्यमा प्रहार गर्न मिल्ने र दुवै प्रकारको अस्त्र लिएर उड्न सक्ने खालको छ।यी क्षेप्यास्त्रहरूले परमाणु युद्धको खतरा बढाउने केही अवस्थाहरू छन्।

सबैभन्दा स्पष्ट अवस्था भनेको ती क्षेप्यास्त्रहरूमार्फत् गैरपारमाणविक बम प्रहार भएको अवस्थामा अन्य देशहरूले त्यस्तो घटनामा परमाणु हमला भयो कि भनेर झुक्किन सक्ने स्थित‌ि रहन्छ। र प्रतिकारका रूपमाअर्को देशले परमाणु अस्त्र प्रहार गर्न सक्छ।

युद्धको अवस्थामा व्यावहारिक खतरा भनेको यस्ता क्षेप्यास्त्रहरूमा परमाणु अस्त्र छन् या छैनन् भनेर एकिन हुन नसक्ने अवस्था हो।

स्याटेलाइट प्रणाली

क्षेप्यास्त्रहरू मात्रै होइनन् अन्य प्रविधिहरूमा पनि पारमाणविक र गैरपारमाणविक अस्त्रहरू स्पष्ट छुट्याउन नसकिने खालका हुँदै गएका छन्। उदाहरणका लागि सबै परमाणिक शक्तिका लागि सञ्चार आवश्यक पर्छ जसका लागि स्याटेलाइट आवश्यक पर्नसक्छ।

तर धेरै अवस्थामा परमाणिक प्रणालीमा प्रयोग गरिने सञ्चार गैरपरमाणिक अभ्यासमा प्रयोग गर्न थालिएको छ। अमेरिकाले आक्रमणका बारेमा जानकारी दिने स्याटेलाइट प्रणाली प्रयोग गर्छ जुन रुसले छोटो दूरीको गैरपरमाणविक क्षेप्यास्त्र प्रयोग गरेको अवस्थामा त्यसलाई खसाल्ने पहिलो चरणको रूपमा प्रयोग हुन्छ।

रुसले अमेरिकाको त्यो सूचना दिने स्याटेलाइनमाथि नै आक्रमण गर्नसक्छ। अमेरिकी सूचना अनुसार रुसले लेजरमा आधारित त्यस्तो हतियार बनाउने प्रयास गरिरहेको छ। यदि त्यस्तो भएको अवस्थामा अमेरिकाले रुसले आफूमाथि परमाणिक अस्त्र प्रहार गर्न लागेको सोचेर त्यस्तै प्रतिक्रिया दिनसक्छ।

अस्त्रमाथि प्रतिबन्ध
पारमाणविक अस्त्र भएका सरकारहरू पनि यो अवस्थाका बारेमा जानकार छन्। र उनीहरूलाई यसबाट हुनसक्ने खतराहरूबारे पनि थाहा छ। तर यो खतरालाई कम गर्नेसम्बन्धी कार्य उनीहरूको प्राथमिकतामा छैन। उनीहरू अझैपनि बलिया र शक्तिशाली हतियार बनाउन चाहन्छन्।

अहिलेको अवस्थामा ती देशहरू यो विषयमा छलफल गर्न एउटा टेबुलमा बस्न पनि नसक्ने अवस्थामा छन् । - यो विश्लेषणात्मक सामग्री बीबीसीबाट लिईएको हो ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत