जसले पेलेको प्रहार रोके

५ बर्ष अगाडि

बेलायतका चर्चित गोलरक्षक गोर्डन बैंक्सको ८१ वर्षको उमेरमा १२ फेब्रुअरीमा मृत्यु भयो । १५ वर्षे फुटबल करियरमा उनले ६२८ फुटबल लिग म्याच खेले भने इंग्ल्यान्डका लागि ७३ क्याप जितेका थिए । इंग्ल्यान्ड सन् १९६६ मा विश्वकप विजेता बन्दा उनी महत्वपूर्ण सदस्य थिए । 
गोर्डन १९५३ मा चेस्टरफिल्ड क्लबमा आबद्ध भएर सन् १९५६ मा युथ टिममा रही एफए युथ कपको फाइनल खेले । उनले सन् १९५८ मा टिमका लागि डेब्यु गरे । सन् १९५९ मा ७ हजार पाउन्डमा लेस्टर सिटीलाई बेचियो । लेस्टरका लागि उनले चार कप फाइनल खेले । सन् १९६४ मा उनको उत्कृष्ट प्रदर्शनमा क्लबले लिग कप जितेको थियो । सन् १९६७ मा उनलाई ५० हजार पाउन्डमा स्टोक सिटीलाई बेचियो ।

गोर्डनलाई विश्व चर्चित बनाउन सन् १९७० को विश्वकपको ठूलो हात छ । म्याक्सिकोमा भएको यो नवौं विश्वकपमा उनले उत्कृष्ट बचाउ गरे । त्यतिबेला पत्रिकाहरूले जादु भएका गोलरक्षक भनेर लेखे । उनले पनि त्यो पेलेको प्रहार रोक्नुलाई आफ्नो करियरकै उत्कृष्ट पल रहेको बताएका छन् । पेलेले दिवंगत इंग्ल्यान्डका गोलकिपर गोर्डन बैंक्सलाई श्रद्धाञ्जली दिँदै ‘अहिलेसम्मकै सर्वाधिक उत्कृष्ट बचाउ’ भनेर उल्लेख गरेका छन् । सो खेलमा ब्राजिलले इंग्ल्यान्डलाई १–० पराजित गरेको थियो ।
ब्राजिलका लिजेन्ट पेलेले ४९ वर्षपछि पनि त्यो सेभ सम्झँदै फेसबुकमा लेखेका छन्, ‘धेरै मानिसले १९७० मा मेरो प्रहार जोगाएको विषयले उनलाई सम्झाउला । यो किन हुन्छ भन्ने म बुझ्छु । यो अहिलेसम्मकै उत्कृष्ट बचाउमध्येको एक थियो । मेरो जीवनकालमा र मैले अहिलेसम्म हेरेका हजारांै खेलमा यस्तो बचाउ देखेको छैन ।’

उनले थपे, ‘तपार्इं एक फुटबलर हुनुहुन्छ भने तपार्इंलाई थाहा हुन्छ, तपार्इंले कति उत्कृष्ट प्रहार गरिरहनुभएको छ भनेर । मैले त्यो हेडर ठीक मैले आशा गरे जस्तै तरिकाले प्रहार गरेको थिएँ । मैले चाहेको स्थानमा जाने गरी प्रहार गरेको थिएँ र म उत्सव मनाउने तयारीमा थिएँ । तर, बैंक्स मेरा लागि नीलो प्रेत भएर देखा परे । उनी कतैबाट आएर मैले सम्भव नै नसोचेको केही गरे । उनले मेरो हेडरलाई क्लियर गरे, माथि कतै । त्यतिबेला मैले जे देखें, त्यो कुराको विश्वास नै गर्न सकिनँ । यो कसरी यति छिटो यति टाढाबाट चल्यो, म विश्वस्त नै हुन सकिनँ ।’
पेलेले आफ्नो जीवनकालमा यस्तो खालको दोस्रो घटना नदेखेको बताएका छन् । उनले आफ्नो फुटबल करियरमा धेरै गोल गरे । धेरै गोलकिपरको सामना गरे । तर, यस्तो कहिल्यै देखेनन् त्यसैले त गोर्डनलाई त्यो क्षणका कारण सम्झनुलाई उनी महŒवपूर्ण मान्छन् ।

‘मैले मेरो जीवनकालमा धेरै गोल गरें । तर, धेरै मानिस जब मलाई भेट्छन्, उनको यो बचावटबारे सोध्छन् । तर, म उनलाई त्यो क्षणले होइन, साथीत्वका रूपमा सम्झन्छु । उनी आत्मीय र दयालु मान्छे थिए । जसले मानिसलाई धेरै चिज दिए ।’ पेले भन्छन्, ‘त्यसैले उनले मेरो हेडर सेभ गरेकामा म खुसी छु । त्यो क्षण हाम्रो मित्रताको सुरुवाती थियो । यो मेरो सम्पत्ति हुनेछ । जब हामी भेट्थ्यौंं, हामी कहिल्यै छुटिएका थिएनौं जस्तो हुन्थ्यो ।’
उनको मृत्युले आफू निकै दुःखी भएको बताउँदै उनको परिवारलाई समवेदना पठाएका थिए पेलेले । चेस्टरफिल्ड, लेस्टर र स्टोकका पूर्वगोलरक्षक ८१ वर्षीय गोर्डन किड्नी क्यान्सरबाट ग्रस्त थिए । उनले सन् १९७२ मा आफ्नो फुटबल करियर समाप्त गरेका थिए ।

कार दुर्घटनामा परी उनको एउटा आँखाको दृष्टि गुमेपछि उनले नचाहँदा नचाहँदै पनि आफ्नो करियर समाप्त गर्नुपरेको थियो । उनले फिफा वर्ष खेलाडीको अवार्ड ६ पटक जिते भने सन् १९७२ मा वर्ष फुटबल खेलाडीको अवार्ड जिते । लिग कपको सेमिफाइनलमा उनले स्टोकका लागि उनले वेस्ट हामको पेनाल्टी सेभ गरेका थिए । सन् १९५६ मा म्यानचेस्टर सिजका गोलरक्षक बर्ट ट्युटम्यानपछि वर्ष फुटबल बन्ने उनी पहिलो गोलरक्षक बनेका थिए ।
उनी अन्तर्राष्ट्रिय फुटबलमा अझै धेरै गर्न चाहन्थे । सन् १९७० को विश्वकपमा पनि उनी उत्कृष्ट प्रदर्शन गर्दै थिए तर खाना विषाक्तताका कारण उनले वेस्ट जर्मनीविरुद्धको क्वार्टरफाइनल म्याच गुमाए । उनले इंग्ल्यान्डकै अहिलेसम्मकै उत्कृष्ट गोलरक्षकका रूपमा व्याख्या गरिन्छ । इंग्ल्यान्डका लागि विश्वकप विजेता सर बाबी चाल्र्टन पनि उनलाई अहिलेसम्मकै उत्कृष्ट गोलरक्षकका रूपमा व्याख्या गर्छन् ।


बैंक्स सेफिल्डमा १९३७ मा जन्मिएका थिए । उनी टेन्स्लेकको मजदुर क्षेत्रमा हुर्के । उनी सेफिल्डमा हुँदा स्कुले केटाका रूपमा विभिन्न क्लबका लागि खेल्थे । सन् १९५३ मा उनलाई चेस्टरफिल्डका लागि ट्रायलको अवसर प्राप्त भएसँगै उनको जीवनले नयाँ मोड लिएको थियो । उनको परिवार गरिब थियो । १५ वर्षको उमेरसम्म पनि उनी रेल्वेबाट कोइला ल्याउँथे । त्यसपछि उनले मजदुरका रूपमा काम गरे । जसले गर्दा आफ्नो शरीर बलियो भएको उनले दाबी गरेका थिए ।
चेस्टफिल्डमा आबद्ध भएपछि पनि उनी लामो समय बेन्चमा बसे । उनको त्यतिबेलाको सपना नै थियो, पहिलो रोजाइमा पर्नु । जब उनी टिममा परे, तब उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई अन्तिम समयसम्म कायम राखे । उनले पेलेको प्रहार बचाएको विषयमा भनेका थिए,
‘त्यो दिन म भाग्यमानी भए भन्ने सोचें । मैले त्यसपछि धेरै पटक पेलेलाई भेटें । हामी प्रायः त्यो क्षणको कुरा गथ्र्याैं । उनले सोचेका थिए रे, त्यो स्कोर भयो भनेर । तर, मेरो हातले बल क्लियर गरिसकेको थियो ।’

रामसूदन तिमल्सिना/राजधानी दैनिकबाट
 

५ बर्ष अगाडि

प्रतिक्रिया