मानसिक अस्पतालमा श्यया अभाव

५ बर्ष अगाडि


ललितपुर – गत साता एक कैदीलाई भेट्न उनकी आमा नख्खु कारागारमा पुग्नुभयो । 

मानसिक रोगबाट पीडित उनलाई भर्ना गरेरै उपचार गर्नुपर्ने देखिएको कारागारमा कार्यरत स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । त्यहाँबाट आमा छोराको उपचारका लागि कुरा गर्न अस्पताल आउनुभएको थियो । अस्पतालले अहिले कुनै पनि श्यया खाली नभएको भन्दै फर्काएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खै कहिलेसम्म कुर्नुपर्ने हो टुङ्गो छैन ।” 

लगनखेलस्थित मानसिक अस्पतालमा दैनिक देखिने दृष्य हो यो । मानसिक रोग सम्बन्धी केन्द्रीय अस्पतालमा श्यया अपर्याप्त हुँदा उपचारका लागि त्यहाँ आएका धेरै बिरामी फर्किने गरेका छन् । 

बहिनीलाई जचाँउन नुवाकोटबाट आउनुभएका एक युवक श्यया अभावकै कारण फर्कन लाग्नुभएको भेटिनुभयो । कडा खालका मानसिक रोग भएकाले भर्ना गरेर उपचार गर्नुपर्ने मानसिक रोग विशेषज्ञ सल्लाह दिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कुरेर यहाँ बस्नुभन्दा यहाँ श्यया खाली भएको खबर आएपछि नै आउनुपर्ला ।” अस्पतालमा श्यया अभावका कारण मानसिक रोग विशेषज्ञले सल्लाह दिनासाथ भर्ना गरेर उपचार गर्न नपाइएको कुरुवा बताउँछन् । पछिल्लो समयमा बिरामीको चाप बढेपछि यहाँ रहेको श्यया अपर्याप्त भएको हो । 

कडा खालका मानसिक रोगीको आगमन बढिरहेकाले श्यया अपर्याप्त भएको अस्पतालले जनाएको छ । बिरामीका परिवारका सदस्य वा आफन्त कडा मानसिक रोग लागेकालाई घरमै राख्दा आफू स्वयं र अरुलाई क्षति पु¥याउने भन्दै अस्पतालमा राखेर उपचार गर्न चाहेको बताउँछन् । अस्पताल परिसरमा भेटिएका उनीहरुले अस्पतालले एकातिर भर्ना गर्न सल्लाह दिने अर्कातिर ठाउँ छैन भन्दै फर्काएको गुनासो गर्छन् । 

यस अस्पतालमा अहिले जम्मा ५० श्यया रहेको छ । यहाँ भएका श्यया कहिले पनि खाली नहुने गरेको अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अनन्त अधिकारीले बताउनुभयो । अस्पतालमा भर्ना भएका एक जना बिरामी अस्पतालबाट छाड्ने अनुमति (डिस्चार्ज) हुँदा अर्काे लाममा नै हुने गरेको उहाँले बताउनुभयो । 

श्यया नभएकाले गर्दा धेरै बिरामीलाई घर पठाएर लाममा राख्ने गरिएको छ । उहाँले भन्नुभयो, “अस्पतालमा आएकालाई नफर्काउन र विशिष्ठकृत सेवा दिन ३०० श्यया आवश्यक रहेको छ ।” श्यया अपुग भएको भन्दै स्वास्थ्य सेवा विभागसँग ३०० श्ययाको माग गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार अस्पतालले लामो समयदेखि जनशक्ति अभाव भोग्दै आएको छ । उहाँले भन्नुभयो, “अहिलेका लागि ५० श्यया थप गरेर १०० श्यया बनाउँदा तत्काल काम गर्न सहज हुन्थ्यो ।” रोगको अवस्था र सुधार हेरेर एक÷दुई सातादेखि एक महीनासम्म पनि बिरामीलाई राखेर उपचार गर्ने गरिएको प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार अस्पतालले कडा खालका बिरामीलाई अस्पतालको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्ने र सामान्य बिरामीलाई औषधि दिएर घर फर्काउने गरेको छ । अस्पतालमा श्ययासँगै मानसिक रोग विशेषज्ञसमेत अपर्याप्त रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार अस्पतालमा निर्देशकसहित सातको दरबन्दी छ । तर अहिले चार जना मात्रै कार्यरत छन् । एकातिर भएको दरबन्दी अपर्याप्त रहेको र अर्कोतिर दरबन्दीभन्दा कम जनशक्ति कार्यरत रहेको उहाँले बताउनुभयो । जनशक्ति अपर्याप्त हुँदा एकै जना मानसिक रोग विशेषज्ञले ५० देखि १०० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको श्यया र जनशक्ति दुवै बढाउन हामीले स्वास्थ्य सेवा विभागलाई भनिरहेका छौँ ।” अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया